एमाले सदस्यता नवीकरण गरेकी विद्या भण्डारी भन्छिन्: ‘अहिले होल्डमा छ’

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरिसकेको भए पनि हाल त्यसलाई होल्डमा राखिएको बताएकी छन् ।

नुवाकोटमा पार्टी नेता–कार्यकर्तासँगको भेटघाटका क्रममा उनले एमाले देशभक्त, राष्ट्रवादी, प्रगतिशील तथा सामाजिक न्यायका पक्षधरहरूको संगठन भएको उल्लेख गरिन् ।

‘एमाले देशभक्त र राष्ट्रवादीहरूको संगठन हो । प्रगतिशील र सामाजिक न्यायका पक्षधरहरूको संगठन हो,’ उनले भनिन्, ‘तपाईंहरूले माने पनि नमाने पनि मैले एमालेको सदस्यता नवीकरण गरिसकेको छु, अहिले होल्डमा छ ।’

भण्डारीले आफू २०३७ सालदेखि पार्टीसँग आबद्ध रहेको स्मरण गर्दै अहिले पनि एमालेमै रहेको दाबी गरिन् । ‘त्यतिखेर म मालेमा थिएँ, माले हुँदै एमाले बनेको हो, र म आज पनि एमालेमै छु,’ उनले भनिन् ।

एमालेले अंगीकार गरेको जनताको बहुदलीय जनवाद (जबज) मार्गदर्शक सिद्धान्त भएको उल्लेख गर्दै त्यसको श्रेय मदन भण्डारीलाई जाने बताइन् । उनले आफू मदन भण्डारीसँगको पारिवारिक सम्बन्धका कारण पनि पार्टीसँग गहिरो रूपमा जोडिएको उल्लेख गरिन् ।

भण्डारीले नेपाली जनताको समर्थन र एमालेको संघर्षकै परिणामस्वरूप आफू दुई पटक राष्ट्रपतिको जिम्मेवारीमा पुगेको धारणा राखिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 11 =