सिटौलालाई राष्ट्रिय सभा दल नेताबाट हटाउँदा पूर्णबहादुर स्तब्ध

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा दल नेताबाट हटाइएको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उक्त निर्णयबारे जानकारी पाउँदा आफू स्तब्ध भएको उनले बताएका छन् ।

कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले बुधबार राष्ट्रिय सभा दल नेता सिटौलालाई हटाएर कमला पन्तलाई मनोनीत गरेका थिए ।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिँदै खड्काले संसदीय दलको विधानअनुसार दल नेता परिवर्तन गर्ने अधिकार संसदीय दल नेतालाई भए पनि वर्तमान संवेदनशील अवस्थामा यस्तो निर्णय हतारमा गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले देशको राष्ट्रियतामाथि संकटका ‘कालो बादल’ मडारिएको र पार्टी आन्तरिक रूपमा विभाजित रहेको अवस्थामा एकताको पहल गर्नुपर्ने जिम्मेवारीमा रहेका व्यक्तिहरूबाट अनुभवी नेतालाई पूर्वजानकारी बिना हटाउने निर्णय हुनु उचित नभएको उल्लेख गरेका छन् ।

खड्काले यस्तो कदमलाई “शुभ संकेत नभएको” भन्दै पार्टीभित्रका सबै पक्षलाई सचेत र सतर्क हुन आग्रह गरेका छन् । यसअघि शेरबहादुर देउवा संसदीय दल नेता हुँदा सिटौलालाई राष्ट्रिय सभा दल नेतामा मनोनीत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =