नेपालको कम्युनिष्ट आन्दोलन जबजको मार्गदर्शनमा अघि बढेको छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिष्ट पार्टीहरु जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शनमा अघि बढेको बताएकी छन् ।
मदन भण्डरीको ७५ औँ जन्मजयन्तिको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जबजले नेपालको कम्युनिष्ट आन्दोलनलाई संगठित र सशक्त ढंगले अघि बढाएको जिकिर गरेकी हुन् ।
आफ्ना पति मदनलाई दूरदृष्टि भएको नेताको रुपमा स्मरण गराउँदै पूर्वराष्ट्रपति भण्डारीले नेपालको राजनीतिमा मदन भण्डारीले राजनीतिक तथा वैचारिक हिसावले जीवन्तता पाएको दावी समेत गरिन् ।
उनले मदन भण्डारीको दर्शनलाई एमालेले सबै कमिटीहरुमार्फत देशव्यापी रुपमा अघि बढाउन आवश्यक रहेको समेत बताइन् ।
मुलुकको समृद्धि र राष्ट्रिय एकताको लागि पनि एमालेले सो विचारलाई सबै कमिटीमार्फत अघि बढाउन आवश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीको भनाई थियो ।
पूर्वराष्ट्रपति भण्डारीले मुलुकलाई आवश्यक्तालाई सम्बोधन हुने गरी जवजलाई अघि बढाउनुपर्नेमा पनि जोड दिइन् ।








