विभेदले चिरिएको कथा: समाजको घाउ उघार्दै ‘सिकल सेल’ (तस्बिरहरू)

काठमाडौँ । शिल्पी थिएटर बत्तीस पुतलीमा नाटक ‘सिकल सेल’ को वैशाख १३ गतेदेखि नियमित मञ्चन सुरु भएको छ ।
‘सिकल सेल’ एक प्रकारको रोग हो । यो रोगमा शरीरभित्र रहेका रातो रक्त कोष (RBC) सामान्य अवस्थामा गोलो र लचिलो हुने भए पनि असामान्य रूपमा हँसिया (sickle) जस्तो आकारमा परिवर्तन हुन्छन् । यस्ता कोषहरू कडा र टाँसिने खालका हुने भएकाले साना रक्त नलीहरूमा अड्किन सक्छन्, जसले शरीरमा अक्सिजनको प्रवाह अवरुद्ध गरी विभिन्न जटिल समस्या निम्त्याउँछ ।
यो रोगले शरीरलाई गलाउँछ र दुखाउँछ । हाम्रो समाजमा पनि मानिसलाई वर्ग, जात र भाषा जस्ता सामाजिक ‘सिकल सेल’ ले ग्रस्त बनाएर धेरै पात्रको मन दुखाएको छ । त्यही दुखाइको प्रतिबिम्बको रूपमा नाटक ‘सिकल सेल’ तयार पारिएको छ ।
गुणराज पोखरेलद्वारा लिखित यो नाटकले ‘सिकल सेल’ रोगलाई प्रतीकात्मक रूपमा प्रयोग गर्दै समाजमा वर्ग, जात र भाषाका आधारमा हुने विभेदले मानिसको मनमा पार्ने पीडालाई प्रस्तुत गरेको छ । सुमित भण्डारीले निर्देशन गरेको यो नाटकमा राम विश्वास र हेमा जस्ता पात्रहरूले एउटा खाली पानाको मूल्य चुकाउन उनीहरूको पिँढी दर पिँढी पीडित शोषित भएर बाँच्नु पर्ने कथा समेटेको छ ।
जमिनको राजनीतिले विश्वव्यापी नभई हाम्रो देशमा पनि दास, कमैया, कमलरी, हलियाजस्ता प्रथालाई जन्म दियो । यी प्रथाले मानिसको जमिन मात्रै हडपेनन्, सयौँ ‘राम विश्वास र हेमा’ जस्ता पात्रहरूलाई आज पनि मालिकको घरमा पुनः हली बस्न बाध्य परिरहेको छ ।
समग्रमा भन्नु पर्दा आफूलाई उच्च सम्भ्रान्त ठान्नेहरूबाट रित परम्पराको नाममा देखावटी समाजसेवा र दानको आडमा रहेर गर्ने शोषण र व्यभिचार विरुद्ध गरिएको विद्रोह हो ‘सिकल सेल’ ।
नाटकमा कलाकारहरू गोविन्द ओली, बिनिता लामा गुरुङ, इच्छा सिंह, निरज बाबु, पूजा सिंह राजवंशी, सङ्गीता उराँव, रविन परियार, धनराज सुनार, सुनिल तामाङ, कोहिनुर विश्वकर्मा, सञ्जय मुडियारी (सज्नु), विष्णु श्रेष्ठ र पारस तामाङले अभिनय गरेका छन् ।
यसैगरी, नाटकमा प्रबीन खतिवडाको सेट डिजाइन, देव न्यौपानेको साउण्ड डिजाइन रहेको छ । प्रकाश परिचालनमा पबित्रा खड्का र ध्वनि परिचालनमा सुशीला लुहार विश्वकर्मा रहेकी छन् । नाटक वैशाख २८ गतेसम्म मङ्गलवार बाहेक हरेक साँझ ५:१५ बजे र शनिवार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुने छ ।










