अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनद्धारा वारेस राख्न माग

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफूविरुद्ध दायर अदालतको अवहेलना मुद्दामा वारेस राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।

उक्त निवेदनमाथि आज शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँलशान्तिसिंह थापाको इजलासमा सुनुवाइ हुने भएको छ।  शाहले बिहीबार वारेस राख्न माग गर्दै निवेदन दर्ता गराएका थिए ।

यसअघि पनि उनले वारेस राख्न माग गरेका थिए तर अदालतले अस्वीकार गरेको थियो । त्यसपछि उनी अवहेलना मुद्दाको तारेखमा आफैं उपस्थित हुँदै आएका थिए ।

प्रधानमन्त्री बालेनले आफू काठमाडौं महानगरपालिकाको मेयर हुँदा आदिपुरूष फिल्ममा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नहटाएसम्म फिल्ममा रोक लगाउने घोषणा गरेका थिए ।

नेपाल चलचित्र संघ (सिनेमा हल सञ्चालकहरूको छाता संगठन) ले महानगरको उक्त निर्णयविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेको थियो । पाटन उच्च अदालतले महानगरको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्दै काठमाडौंभित्र हिन्दी फिल्म प्रदर्शनको बाटो खुला गरिदिएको थियो ।

त्यसपछि सामाजिक सञ्जालमा शाहले अदालत र संघीय सरकारप्रति असन्तुष्टि जनाउँदै कडा टिप्पणी गरेका थिए । उनले अदालतको आदेश नमान्ने अभिव्यक्ति दिँदै सार्वभौमसत्तासम्बन्धी मुद्दामा आफू दृढ रहने बताएका थिए ।

यसै क्रममा अधिवक्ता वर्षा कुमारी झाले शाहविरुद्ध सर्वोच्चमा अवहेलनाको निवेदन दायर गरेकी थिइन् । सो निवेदनमाथि सुनुवाइ गर्दै अदालतले शाहसँग लिखित जवाफ मागेको थियो ।

शाहले अदालतमा पेश गरेको जवाफमा आफूले अदालतको आदेश वा फैसला उल्लंघन नगरेको दाबी गर्दै अवहेलनाको कारबाही नलाग्ने जिकिर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =