आर्थिक वर्ष २०२५–२६ मा भारतको निर्यात ४.२२ प्रतिशतले वृद्धि

भारत । भारतको वस्तु र सेवासहितको कुल निर्यात आर्थिक वर्ष २०२५–२६ (अप्रिल २०२५ देखि मार्च २०२६ सम्म) मा ४.२२ प्रतिशतले बढेर ८६०.०९ अर्ब अमेरिकी डलर पुगेको छ ।
यस आर्थिक वर्षको तथ्याङ्क सार्वजनिक गर्दै देशका वाणिज्य सचिव राजेश अग्रवालले नयाँ दिल्लीमा पत्रकारहरूसँगको कुराकानीमा यो जानकारी दिएका हुन् । उनकाअनुसार, अघिल्लो वर्षको तुलनामा यस वर्ष वस्तु निर्यात ०.९३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ४३७.७ अर्ब अमेरिकी डलर रहेको वस्तु निर्यात यस आर्थिक वर्ष २०२५–२६ मा बढेर ४४१.७८ अर्ब अमेरिकी डलर पुगेको छ ।
इन्जिनियरिङ सामान, पेट्रोलियम उत्पादन, अभ्रक, कोइला र अन्य खनिज पदार्थ, अन्य खाद्यान्न र हस्तकलाका सामग्रीको निर्यातमा भएको वृद्धिले मुख्य रूपमा निर्यातको तथ्याङ्कलाई माथि उकासेको अग्रवालले बताए । यी क्षेत्रहरूले चुनौतीपूर्ण विश्वव्यापी वातावरणमा पनि सकारात्मक प्रदर्शन गरेका छन् ।
तथापि, आयात निर्यातको तुलनामा अझ तीव्र गतिले बढेको छ । आर्थिक वर्ष २०२५–२६ मा करिव ९७० अर्ब अमेरिकी डलर बराबरको आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.४७ प्रतिशतको वृद्धि हो । आयातमा भएको यस वृद्धिका कारण देशको समग्र व्यापार घाटा अघिल्लो वर्षको ९४.६६ अर्ब डलरबाट बढेर यस वर्ष ११९.३ अर्ब डलर पुगेको जानकारी पनि ती अधिकारीले दिए ।









