रोयल इनफिल्डको ‘गोवन क्लासिक ३५०’ नेपालमा सार्वजनिक

काठमाडौं । मिड–साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी अग्रणी कम्पनी रोयल इनफिल्डले नेपालमा नयाँ मोडल ‘गोवन क्लासिक ३५० (२०२६ एडिसन)’ सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि.ले यो मोटरसाइकल बजारमा ल्याएको हो ।
बोबर शैलीबाट प्रेरित डिजाइनमा आएको यो मोटरसाइकल स्वतन्त्र र खुला जीवनशैली झल्काउने ढाँचासहित राइडर–केन्द्रित सुविधाहरूमा जोड दिँदै प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
नयाँ मोडलमा ३४९ सीसी एयर–कुल्ड सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ६,१०० आरपीएममा २०.२ बीएचपी पावर र ४,००० आरपीएममा २७ एनएम टर्क उत्पादन गर्छ । ५–स्पिड गियरबक्ससहित यो बाइकले सहरको भीडभाडदेखि राजमार्गसम्म सहज र आरामदायी राइडिङ अनुभव दिने कम्पनीको दाबी छ ।
यस मोटरसाइकलमा असिस्ट एन्ड स्लिपर क्लच, अपग्रेड गरिएको यूएसबी टाइप–सी चार्जिङ पोर्ट तथा डाउनसिफ्टमा राम्रो नियन्त्रण दिने प्रणाली समावेश गरिएको छ, जसले राइडरलाई थप सहज, सुरक्षित र आरामदायी यात्रा दिने बताइएको छ ।
डिजाइनतर्फ यसले आफ्नो सिग्नेचर सिंगल–सिट बबर शैली कायम राखेको छ । फ्लोटिङ राइडर सिट, ह्वाइटवाल एज–टाइप आल्मुनियम ट्युबलेस स्पोक ह्विल, चोपर–स्टाइल फेन्डर, स्ल्यास–कट एक्जस्ट र मिड–एप ह्यान्डलबारले यसलाई आकर्षक र प्रिमियम लुक दिएको कम्पनीले जनाएको छ ।
लन्च अवसरमा अल्फा अटोमोटिभ प्रा.लि. का निर्देशक मेघराज पौडेलले यो मोडल नेपाली राइडरहरूबीच विशेष आकर्षण बन्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार गोवन क्लासिक ३५० ले स्वतन्त्र जीवनशैली रुचाउने राइडरका लागि ब्रान्डको लाइनअपमा फरक पहिचान बनाउनेछ ।
यो मोडल नेपालभरका आधिकारिक रोयल इनफिल्ड शोरुमहरूमा उपलब्ध हुनेछ ।
मूल्य (एक्स–शोरुम)
- शार्क ब्ल्याक र पर्पल हेज — रु ५ लाख ९८ हजार
- ट्रिप टिल र रेभ रेड — रु ६ लाख २ हजार
रोयल इनफिल्ड सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको विश्वकै पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो । ब्रिटिश विरासतबाट सुरु भएको यो ब्रान्डले भारतको मिड–साइज दुईपांग्रे सवारी सेग्मेन्टको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ ।
नेपालमा यो ब्रान्डका क्लासिक ३५०, मेटिअर ३५०, हिमालयन ४५० लगायत मोडलहरू पहिले नै लोकप्रिय छन् । हालै कम्पनीले इलेक्ट्रिक मोबिलिटी ब्रान्ड ‘फ्लाइङ फ्ली’ पनि सार्वजनिक गरेको छ ।









