कूटनीतिबारे लेख्ने महिला पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने

काठमाडौँ । अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिका बारेमा कलम चलाउने महिला पत्रकारको सङ्ख्या वृद्धि गर्न आवश्यक भएको आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् ।

मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले फेड्रिक इबर्ट स्टिफटुङसँगको सहकार्यमा आयोजित ‘अन्तरराष्ट्रिय सम्बन्ध र सञ्चारमाध्यमका विमर्शमा लैङ्गिक धारणा’ विषयको छलफलमा उनीहरूले कूटनीतिक विधामा लेख्न महिला पत्रकारलाई अभिप्रेरित गर्नुपर्ने बताएका हुन् ।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नीतु पण्डितले अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीति बारेमा लेख्ने महिला पत्रकारको सङ्ख्या जम्मा छ प्रतिशत रहेको बताइन् ।

गोरखापत्र दैनिकका प्रधानसम्पादक जुनारबाबु बस्नेतले कूटनीतिक मुद्दामा कलम चलाउने सीमित महिला पत्रकार रहेकाले यो क्षेत्रमा अझ धेरै लेख्न महिलालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

पत्रकार शन्त गाहामगरले समावेशीता बिनाको ‘न्यूजरुम’ अपूरो हुने बताउँदै सम्पादकीय धारणा परिवर्तन गर्नु जरुरी भएको सुनाए ।

माइ रिपब्लिका दैनिकका सम्पादक कोषराज कोइरालाले कूटनीतिबारे महिला पत्रकारलाई प्रशिक्षणको व्यवस्थाका साथै स्रोत र साधन उपलब्ध गराउन सम्बद्ध निकाय गम्भीर हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =