राजनीतिमा चासो छ, समय आएपछि सोच्न सक्छु: राजेश हमाल

काठमाडौं । नेपाली सिने क्षेत्रका चर्चित अभिनेता राजेश हमालले भविष्यमा राजनीतिमा प्रवेश गर्न सक्ने संकेत गरेका छन् ।
कर्णाली उत्सवमा बोल्दै हमालले आफू राजनीतिमा चासो राख्ने व्यक्ति भएको उल्लेख गर्दै समय र आवश्यकता अनुसार राजनीतिमा देखिन सक्ने बताएका हुन् । दर्शकको प्रश्नको जवाफ दिँदै उनले भने, “म राजनीतिमा चासो राख्ने, बुझ्ने व्यक्ति हो । त्यसैले राजनीतिमा देखिनै नपाइने हो त म भन्दिनँ । तर, हरेक व्यक्तिको एउटा खाँचो महसूस हुने बिन्दु आउँछ ।”
उत्सवका क्रममा उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे पनि धारणा राखेका थिए । परिवर्तनका लागि आन्दोलन सकारात्मक भए पनि त्यसक्रममा भएको भौतिक क्षतिलाई उनले गलत ठहर गरेका छन् । “हाम्रो देशका धरोहरहरू जले, त्यो राम्रो भएन,” उनले भने, “आज सिंहदरबार नजलेको भए, संसद् भवन नजलेको भए नयाँ सांसदहरू त्यहीँ बस्न पाउनुहुन्थ्यो ।”








