वि.सं २०८२ मा सोसल मिडिया: सिंहदरबार चलाउने ‘रिमोट कन्ट्रोल’!
राजनीतिज्ञहरूको परिणाम बिनाको भाषणले जनतामाझ पैदा भएको वितृष्णा पनि चरम बिन्दुमा पुगिसकेको थियो ।

काठमाडौं । वि.सं २०८२ वैशाखमा केपीशर्मा ओली नेतृत्वको सरकार थियो । तत्कालीन समय नेकपा (एमाले) र नेपाली काँग्रेस बीचको सहकार्यमा बनेको गठबन्धन सरकार चलिरहेको थियो । जनताहरू ओलीले विभिन्न सभा समारोहमा बोलेका उखान टुक्काहरूमा हाँस्न छाडिसकेका थिए । राजनीतिज्ञहरूको परिणाम बिनाको भाषणले जनतामाझ पैदा भएको वितृष्णा पनि चरम बिन्दुमा पुगिसकेको थियो ।
काठमाडौंको माइतीघर मण्डलामा दिनहुँ जसो किसान, शिक्षक, स्वास्थ्य कर्मचारी, व्यवसायी र अन्य थुप्रै समूहहरू आन्दोलनरत थिए । त्यसबीच टिकटक लगायत सामाजिक सञ्जालमा देखापर्यो ‘नेपो बेबी’ ट्रेन्ड ।
छोटो समयमा नै सामाजिक सञ्जालमा लोकप्रिय बनेको यस ‘ट्रेन्ड’ ले राजनीतिज्ञहरूका छोराछोरीहरूलाई ‘नेपो किड्स’ भनेर लेबल गर्दै उनीहरूको विलासी जीवनशैलीमाथि प्रश्न उठाएको थियो ।
त्यसबीच वि.सं २०८२ भदौ २० गते मन्त्रिपरिषद्को बैठकले नेपालमा सूचीकरण नभएका र दर्ता नभएका फेसबुक, युट्युब लगायतका २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गर्यो ।
जुन निर्णयले गर्दा जेन जेट युवाहरू सरकारसँग झनै रुष्ट बन्न पुगे ।
त्यसपछि केही इन्फ्लुन्सरहरूले बानेश्वर र देशका अन्य भागहरूमा ‘भ्रष्टाचार विरुद्ध’ विरोध प्रदर्शनको लागि आह्वान गरे । भदौ २३ र २४ गतेको उक्त आन्दोलनमा जेनजी युवासहित ७६ जना मारिए ।
यसरी सामाजिक सञ्जालबाट सुरु भएको सानो विद्रोहको झिल्कोले सिंहदरबारदेखि सर्वोच्च अदालतसहित सरकारी भवनहरू जल्न पुगे । जुनकुराको कल्पना स्वयम जेनजीहरूले समेत गरेका थिएनन् ।
त्यसबीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले आफ्नो पदबाट राजीनामा दिएसँगै मुलुकमा नेतृत्वकर्ताको खडेरी देखापर्यो ।
त्यसबेला जेनजी आन्दोलनलाई समर्थन गर्दै सामाजिक सञ्जालमा भाइरल बनेका व्यक्तिहरू नै सरकार बनाउन अग्रसर भए । समाज र सञ्जालमा लोकप्रिय ती नै व्यक्तिहरू अहिले मन्त्री बनेका छन् । जस्तै:
बालेन शाह:

वर्तमान प्रधानमन्त्री बालेन शाह काठमाडौँ महानगरपालिकाका पूर्व मेयर हुन् । विशेषतः उनी र्याप कल्चरबाट राजनीतिमा भित्रिएका कारण सामाजिक सञ्जालमा उनको राम्रै फ्यान फलोइङ थियो । जेनजी आन्दोलनलाई समर्थन गरेका उनले प्रतिनिधि सभा निर्वाचनमा झापा-५ बाट ६८३४८ मतसहित निर्वाचित भएका थिए । हाल उनी नेपालका प्रधानमन्त्रीको पदमा छन् ।

सुधन गुरुङ:
हामी नेपाल संस्थाका संस्थापक सुधन गुरुङ जेनजी आन्दोलनबाट एकाएक चर्चामा आएका हुन् । आन्दोलनमा पानी बाँड्न गएका उनले तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार बनाउन विशेष भूमिका खेलेका थिए । त्यसबेलासम्म उनी सोसल मिडियाका लागि ‘हट केक’ बनी सकेका थिए ।
आफ्ना व्यक्तिगत कुरा, अभिव्यक्त र कामले सोसल मिडिया तताउँदै आएका सुधन गुरुङ हाल गृहमन्त्रीको पदमा छन् ।
आशिका तामाङ:

सामाजिक सञ्जालमार्फत समाजमा हुने गरेका नराम्रा कामहरू प्रति आवाज उठाउँदै आएकी समाजसेवी आशिका तामाङ जेन्जी आन्दोलनमा समेत सहभागी भएकी थिइन् । त्यसअघि नै सामाजिक सञ्जालमा भाइरल रहेकी आशिका आन्दोलनमा घाइतेहरूलाई सान्त्वना दिन र राहत बाँड्ने काममा अग्रसर भइन् । त्यसले सामाजिक सञ्जालमा उनको चर्चा झनै चुलियो ।
त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आशिका जस्तै सामाजिक सञ्जालमा भाइरल तर लोकप्रिय व्यक्तिहरूलाई पार्टी प्रवेश गराउँदै संसदीय चुनावको उम्मेदवार घोषणा गर्यो ।
त्यसमध्येमा पर्छन् पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, बडि बिल्डर रजनी श्रेष्ठ, अभिनेत्री रिमा विश्वकर्मा र रमेश प्रसाईँ लगायतका पात्रहरू । जो अहिले चुनाव जितेर सांसद बनिसकेका छन् ।
समग्रमा, २०८२ साललाई फर्केर हेर्दा सामाजिक सञ्जाल अब केवल मनोरञ्जनको माध्यम मात्र रहेन, बरु भ्रष्टाचार, ढिलासुस्ती र बेथिति विरुद्ध जनताको आवाज उठाउने शक्तिशाली प्लेटफर्म बनेको छ । आज कुनै सानो भिडियो क्लिप वा पोस्टले पनि सरकारमाथि तत्काल ध्यान दिन र निर्णय लिन दबाब सिर्जना गर्ने ‘डिजिटल प्रेसर’ को अवस्था देखिन्छ ।
यसरी सामाजिक सञ्जालले सिंहदरबारलाई नियन्त्रण गर्ने जस्तो प्रभाव पार्दै, जनताको हातमा एउटा अनौपचारिक ‘रिमोट कन्ट्रोल’ जस्तै भूमिका खेलिरहेको छ ।








