नेपालमा ‘जेको J6T’ सार्वजनिक
अधिकतम खुद्रा मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकिए पनि प्रारम्भिक अफरअन्तर्गत ६६ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराइएको छ

काठमाडौँ । नेपालमा Jaecoo J6T औपचारिक रूपमा सार्वजनिक गरिएको छ। SPG Automobiles Pvt. Ltd. ले सोमबार एक कार्यक्रमबिच नयाँ अल–रोडर इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार Omoda & Jaecoo को आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ल्याएको यो गाडी रियर–ह्वील ड्राइभ (RWD) भेरियन्टमा उपलब्ध छ। यसको अधिकतम खुद्रा मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकिए पनि प्रारम्भिक अफरअन्तर्गत ६६ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराइएको छ।
कार्यक्रममा शारदा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शार्दा, निर्देशक गौरव शार्दा, ग्राहकहरू, सञ्चारकर्मी, इन्फ्लुएन्सर तथा अटो मोबाइल क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
नयाँ Jaecoo J6T मा रियर माउन्टेड मोटर जडान गरिएको छ, जसले २२० एनएम टर्क उत्पादन गर्छ। यसमा लिथियम आयरन फस्फेट (LFP) प्रविधिको CATL ब्याट्री प्रयोग गरिएको छ, जसले एक पटकको चार्जमा ४३१ किलोमिटरसम्म ड्राइभिङ रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।
गाडीमा २२५ मिनी ग्राउन्ड क्लियरेन्स, ४,४३३ मिनी लम्बाइ, १,९१६ मिनी चौडाइ, १,७४१ मिनी उचाइ र २,७१५ मिनी ह्वीलबेस रहेको छ। साथै १९ इन्च टायर, १५.६ इन्च सेन्ट्रल टच स्क्रिन, ९.२ इन्च इन्स्ट्रुमेन्ट प्यानल, ५० वाट वायरलेस चार्जर र ८ स्पिकरजस्ता आधुनिक सुविधाहरू समावेश गरिएका छन्।
यसअघि सार्वजनिक गरिएको Jaecoo J6 मा २०० मिनी ग्राउन्ड क्लियरेन्स र ४०० किलोमिटर ड्राइभिङ रेन्ज उपलब्ध रहेकोमा नयाँ संस्करणमा यी दुवै पक्षमा सुधार गरिएको कम्पनीले जनाएको छ। आकर्षक बक्सी र रग्ड डिजाइनमा तयार गरिएको यो मोडेल Land Rover Defender बाट प्रेरित रहेको बताइएको छ।
कम्पनीका अनुसार नयाँ मोडेल साहसिक यात्रा र कठिन सडक अवस्थालाई लक्षित गर्दै डिजाइन गरिएको हो। देशभरका Omoda & Jaecoo का आधिकारिक सो रुमहरूमा गाडी उपलब्ध रहेको छ।
नयाँ मोडेल सार्वजनिकसँगै SPG Automobiles Pvt. Ltd. ले नेपालको तीव्र रूपमा विस्तार भइरहेको एसयूभी बजारमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ। साथै ग्राहकलाई नवीन प्रविधियुक्त, विश्वासिलो तथा साहसिक ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ।








