थुनिए राजमार्गहरू : दाउन्ने, सिद्धबाबा र मध्यपहाडी लोकमार्गमा यस्तो छ अवस्था

काठमाडौं । शनिबार बिहानैदेखि देशका विभिन्न भागमा भएको वर्षा र हिमपातका कारण पूर्व-पश्चिम, सिद्धार्थ र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका छन् । मुख्य सडक खण्डहरूमा पहिरो खस्ने र हिउँ जम्ने क्रम नरोकिँदा सयौँ सवारी साधन र हजारौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

अविरल वर्षासँगै खसेको पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पूर्ण रूपमा ठप्प भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्रमा ठूला ढुङ्गासहितको पहिरो झरेपछि यातायात आवागमन रोकिएको हो । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पहिरो पन्छाउने प्रयास भइरहे पनि लगातारको वर्षाले काममा बाधा पुर्‍याएको छ ।

यसैगरी, पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड पनि अवरुद्ध भएको छ । वर्षाका कारण उकालो र ओरालो बाटो अत्यन्तै चिप्लो भएपछि सवारी साधनहरू गुड्न सकेका छैनन् । दाउन्नेमा बाटो अवरुद्ध भएपछि सवारी साधनहरूलाई वैकल्पिक मार्गका रूपमा पाल्पा हुँदै पठाउने प्रयास गरिएको थियो । तर, सिद्धार्थ राजमार्गको सिद्धबाबामा समेत पहिरो खसेपछि यात्रुहरू दोहोरो मारमा परेका छन् । वर्षा नरोकिँदासम्म सडक सुचारु गर्न अझै केही घण्टा लाग्न सक्ने प्रहरीले जनाएको छ ।

उता पहाडी जिल्ला रुकुम पूर्वमा भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ । शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातले मध्यपहाडी लोकमार्गको लुकुम-पातिहाल्ना सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ । सडकमा बाक्लो हिउँ जमेपछि काठमाडौंबाट रुकुम पश्चिम र छिमेकी जिल्लाका लागि छुटेका ७ वटा रात्रि बस, एक जिप र ५ वटा मोटरसाइकल बिचल्लीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार करिब २५० भन्दा बढी यात्रुहरू हिउँकै बीचमा अलपत्र परेका छन् । सो क्षेत्रमा दूरसञ्चार सेवासमेत अवरुद्ध हुँदा उद्धार र समन्वयमा थप कठिनाइ भएको छ । स्थानीय प्रशासन र प्रहरीले अलपत्र यात्रुहरूको उद्धारका लागि स्थानीय तहसँग समन्वय गरिरहेको जनाएका छन् ।

अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहे पनि मौसममा सुधार नआएसम्म यात्रा जोखिमपूर्ण रहेको ट्राफिक प्रहरीले जनाएको छ । अत्यावश्यक काम बाहेक यस्तो मौसममा लामो दूरीको यात्रा नगर्न र सडकको अवस्था बुझेर मात्र सवारी साधन चलाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 8 =