यी क्षेत्रमा चट्याङ्गसहित वर्षा र हिमपातको चेतावनी

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएसँगै देशभरको मौसममा फेरबदल आएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदलीको अवस्था रहेको छ ।
दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आकाश बादलले ढाकिने सम्भावना छ । महाशाखाका अनुसार हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुने देखिएको छ । यस्तै, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका केही स्थानहरूमा पनि वर्षाको सम्भावना रहेको छ । तराईका क्षेत्रमा भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
आज राति पनि मौसमको यो स्वरूप जारी रहने देखिन्छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत मुलुकभरका पहाडी र हिमाली भूभागमा मौसम साधारणतया बदली रहनेछ । हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार रातिको समयमा कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना छ भने कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा समेत एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने अनुमान छ । वर्षा र हिमपातका कारण हुनसक्ने चिसो र चट्याङ्गको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।








