चुनावी परिणामले समाजसेवामा प्रभाव पार्दैन, निःशुल्क उपचार सेवा जारी रहन्छ : डा. सुनील शर्मा

काठमाडौं ।  मोरङ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले निर्वाचनको परिणामले आफ्नो मानवीय सेवाको अभियानलाई कुनै असर नगर्ने स्पष्ट पारेका छन् । निर्वाचनमा पराजित भएपछि उनले सञ्चालन गर्दै आएको निःशुल्क स्वास्थ्य उपचार सेवा बन्द गरेको भनी सामाजिक सञ्जाल र बजारमा फैलिएका हल्लाहरूको खण्डन गर्दै उनले सेवा निरन्तर रहने प्रतिबद्धता जनाएका हुन् ।

डा. शर्माले एक सार्वजनिक सूचना जारी गर्दै नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमार्फत विगत लामो समयदेखि विपन्न नागरिकहरूका लागि उपलब्ध गराउँदै आएको निःशुल्क उपचार र स्वास्थ्य सेवा पहिलेझैं जारी रहने बताएका छन् । ‘चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध हुँदैन, न त कहिल्यै थियो,’ उनले भनेका छन्, ‘समाज र राष्ट्रप्रतिको हाम्रो दायित्वलाई आत्मसात गर्दै यस्ता सेवा र सहयोगका कार्यहरू आगामी दिनहरूमा पनि देशभर निरन्तर रूपमा जारी राख्नेछौं ।’

उनले विशेष गरी आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई प्राथमिकतामा राख्दै छुटदेखि निःशुल्क उपचारसम्मका सुविधा दिइँदै आएको स्मरण गराएका छन् । बजारमा फैलिएका भ्रममा नपर्न आग्रह गर्दै डा. शर्माले आवश्यक जानकारीका लागि सम्बन्धित वडामा रहेका संस्थाका प्रतिनिधिहरूसँग सम्पर्क गरी संस्थाको नियम र विधिअनुसार सेवा लिन सबैमा अनुरोध समेत गरेका छन् ।

हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार मोरङ–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्की ३६ हजार ९२४ मत प्राप्त गरी विजयी भएका छन् । डा. शर्माले २४ हजार ३५४ मत प्राप्त गरेका थिए । चुनावी परिणाम आफ्नो पक्षमा नआए पनि डा. शर्माले स्वास्थ्य क्षेत्रमार्फत गरिने समाजसेवालाई राजनीतिक लाभ-हानिको विषय नबनाउने दृढता व्यक्त गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fifteen =