वैज्ञानिक समाजवादको एजेण्डासहित अघि बढिरहेका छौँ: माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले पार्टी देश र जनतालाई केन्द्रमा राखेर सामाजिक–आर्थिक रूपान्तरणको एजेण्डासहित अघि बढिरहेको दाबी गरेका छन् ।
शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले केही व्यक्तिहरूले पाटीबारे नकारात्मक प्रचार गरिरहेको भन्दै भ्रममा नपर्न समेत पार्टीपंक्तिलाई आग्रह गरे । उनले देशलाई केन्द्रबिन्दुमा राख्ने, जनताका मुद्दालाई प्राथमिकतामा राख्ने र समाजमा आमूल परिवर्तन ल्याउने लक्ष्यसहित पार्टी संरचनाको गठनको कार्य तीव्र गतिमा भइरहेको बताए ।
उनले भने ‘कोही कोही मान्छेहरू नकारात्मक प्रचार गरेर हिँडिरहेका छन् । तर हामीले बुझिरहेका छौँ जुन पार्टी देशलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्दछ, जुन पार्टी जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्छ, जुन पार्टी विश्वास भावले समाजमा आमूल परिवर्तनको सामाजिक आर्थिक रूपान्तरणको एजेन्डा लिएर अगाडि बढ्छ । अहिले हामी नेपालीमा समाजमा आधारित वैज्ञानिक समाजवाद अङ्गालेर हामी अगाडि बढिरहेका छौँ । यस अर्थमा पनि हामी लामो समयदेखि छलफल चलाइरहेका छौँ । यो सबै कुरालाई समेटेर हामी पार्टीको विधानलाई अन्तिम रूप पनि दिनेछौँ । ’
उनले नेपालले नेपाली समाजमा आधारित वैज्ञानिक समाजवादको अवधारणालाई अघि सार्दै पार्टीको विधानलाई अन्तिम रूप दिने तयारी भइरहेको समेत जानकारी दिए ।









