नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छ: शिक्षामन्त्री

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल स्काउटलाई नयाँ पद्धति र प्रणालीअनुसार अगाडि बढाउन सरकारले नीतिगत तथा कानुनी पुनर्संरचनाको प्रक्रिया सुरु गरेको बताएका छन् ।

नेपाल स्काउटको स्थापना दिवसका अवसरमा शुक्रवार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री पोखरेलले स्काउटलाई केवल लाइन मिलाउने वा सामान्य स्वयंसेवकका रूपमा मात्र सीमित राख्न नहुने उल्लेख गर्दै यसले विपद् व्यवस्थापन र सीमित स्रोतसाधनमा अधिकतम नतिजा निकाल्ने महत्त्वपूर्ण जीवनोपयोगी शिक्षा प्रदान गरिरहेको बताए ।

विद्यार्थीमा बढ्दो मानसिक तनाव र स्वास्थ्य समस्या न्यूनीकरणमा स्काउटिङ अभियान प्रभावकारी हुने मन्त्री पोखरेलको धारणा थियो । नेपाल स्काउटको वर्तमान साङ्गठनिक संरचनालाई आधुनिक ढङ्गले रूपान्तरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिँदै मन्त्री पोखरेलले नयाँ कार्यसमिति गठनका लागि सरकार सकारात्मक रहेको स्पष्ट पारे ।

उनका अनुसार स्काउटको कानुनी र नीतिगत सुधारका लागि कानुन मन्त्रालयसँग समेत आवश्यक परामर्श र छलफल भइरहेको छ ।

उनले भने ‘जतिखेर जनशक्ति र स्वयंसेवकको खाँचो पर्छ, त्यहाँ स्काउटकै उपस्थिति रहने गरेको छ। विपद्को पूर्वतयारी र व्यवस्थापनमा स्काउटले दिने तालिम जीवनभरका लागि महत्त्वपूर्ण पाठ हो । आजका विद्यार्थीहरूमा सानो कुरामा पनि तनाव लिने र मानसिक समस्या देखिने क्रम बढेको छ । स्काउटले दिने शारीरिक व्यायाम र मानसिक प्रशिक्षणले विद्यार्थीहरूलाई अनुशासित, स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत पुर्याउँछ ।’

देशको नयाँ संघीय संरचना र आधुनिक आवश्यकतासँग मेल खाने गरी स्काउटलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री पोखरेलले स्काउटले समाजमा पुर्याएको सकारात्मक योगदानको उच्च प्रशंसा समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =