निर्वाचित भए काठमाडौंका खोला/नदी ढलमुक्त बनाउँछुः बानियाँ

काठमाडौं । नेपाली काँग्रेस काठमाडौंका सभापति एवं काठमाडौं क्षेत्र नम्बर ६ का काँग्रेस उमेदवार कृष्ण सबुज बानियाँले सबुज कृष्ण बानियाँले आफू निर्वाचित भए काठमाडौंका खोला–नदीलाई र ढलमुक्त बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मंगलवार यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले काठमाडौंलाई प्रदुषणमुक्त र ढलमुक्त बनाउने प्रतिज्ञा गरेका हुन् । उनले सिंगो काठमाडौंको वातावरणीय सुधार आफ्नो प्राथमिक एजेण्डा रहेको उल्लेख गरे ।
उनले काठमाडौंका विभिन्न क्षेत्रबाट निर्वाचित हुने जुनसुकै दलका जनप्रतिनिधिसँग समन्वय गरेर खोलामा मिसिएको ढल व्यवस्थापन र प्रदुषण नियन्त्रणका लागि अग्रसर हुने दाबी गरे ।
बानियाँले सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि उत्तिकै महत्व दिएको उल्लेख गर्दै परापूर्वकालदेखि रहेका सम्पदाको यथोचित व्यवस्थापन र प्रवद्र्धन गरिने बताए ।
काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउन समन्वित पहल आवश्यक रहेको उनको भनाइ छ ।
उनले शिक्षा क्षेत्र सुधार आफ्नो अर्को प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै सामुदायिक विद्यालयको गुणस्तर उकास्न विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए ।
काठमाडौं–६ उच्चस्तरीय शहरीकरण भइसकेको उल्लेख गर्दै बानियाँले व्यवस्थित शहरी व्यवस्थापनका लागि समयसापेक्ष योजना आवश्यक रहेको धारणा पनि राखे ।
उनले सबै वर्ग, उमेर र समुदायको हकहित र भावनाअनुसार काम गर्ने प्रतिज्ञा गर्दै आसन्न निर्वाचनमा आफूलाई निर्वाचित गराउन समेत अपिल गरे ।








