रविलाई निवर्तमान सभामुखको जवाफः ‘घृणा फैलाउने अभिव्यक्ति स्वीकार्य छैन’

काठमाडौं । झापा क्षेत्र नम्बर २ का उम्मेदवार तथा प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले आफूविरुद्ध घृणा फैलाउने अभिव्यक्ति आएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार बिर्तामोडमा आयोजित कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भनेर टिप्पणी गरेकोप्रति घिमिरेले प्रतिक्रिया दिएका हुन् ।

घिमिरेले लोकतान्त्रिक अभ्यासमा उम्मेदवार र दलहरूले आफ्ना योजना र एजेन्डा प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाउने प्रवृत्ति चुनावी प्रतिस्पर्धामा दीर्घकालीन रूपमा टिक्न नसक्ने बताएका छन् ।

उनले संसद्मा प्रत्येक सदस्यलाई बोल्ने अधिकार भए पनि संसदीय नियमावलीअनुसार समय निर्धारण हुने स्पष्ट पारे । माइक काट्ने वा काटिने विषय सभामुखको व्यक्तिगत निर्णय नभई पूर्वनिर्धारित समय र नियमअनुसार हुने उनको भनाइ छ ।

संसद्को वेबसाइटमा हेर्दा आफू मात्र नभई उपसभामुख वा बैठक सञ्चालन गरेका अन्य सदस्यहरूको पालामा पनि समय सकिएपछि माइक बन्द गरिएका उदाहरण भेटिने उनले उल्लेख गरे ।

लामिछानेको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै घिमिरेले प्रतिशोधको भावना भड्काएर जनतालाई भ्रमित नगर्न आग्रह गरेका छन् । प्रतिस्पर्धी उम्मेदवारबारे व्यक्तिगत टिप्पणी नगर्ने प्रतिबद्धता यसअघि नै गरिसकेको स्मरण गराउँदै उनले चुनावी प्रतिस्पर्धा सभ्य र मुद्दामुखी हुनुपर्ने बताए ।

उनले भने, “रविजीले फैलाएको घृणाप्रति म खेद व्यक्त गर्दछु। तपाईँलाई जवाफ दिँदै म पनि भन्न सक्छु– आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानुनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ? तर म आक्षेप र आफूमाथि देखिन अरूलाई अपराधी देख्ने प्रवृत्तिको पक्षमा छैन । आफू माथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लाञ्छना नलाउन अपिल गर्दछु ।”

रवि लामिछाने झापा पुगेर निवर्तमान सभामुख घिमिरेको आलोचना गरेका थिए । झापा–२ मा रास्वपाकी उम्मेदवार इन्दिरा राना मगरका लागि मत माग्दै उनले ‘जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान सभामुख कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ ?’ भन्दै प्रश्न उठाएका थिए ।

संसद्मा भिजिट भिसा प्रकरणमा कारबाहीको माग गर्दा आफ्नो माइक काटिएको आरोप पनि उनले लगाएका थिए । साथै, उनले पूर्वसभामुख घिमिरेमाथि दलगत प्रभावमा काम गरेको आरोप लगाउँदै यस पटक जनताले जवाफ दिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 20 =