जीलि अटो ग्रुपद्वारा विकसित अत्याधुनिक ब्याट्री प्रविधि नेपालमा ईएक्स ५ मार्फत उपलब्ध

काठमाडौं । नेपाली सडकमा विद्युतीय सवारी साधन (ईभी) को उपस्थिति बलियो बन्दै गएका बेला विश्वप्रख्यात जिली अटो ग्रुपको अत्याधुनिक ब्याट्री प्रविधि नेपाल भित्रिएको छ । जिलीको आधिकारिक विक्रेता एलआरआर मोटर्सले आफ्नो नयाँ मोडेल ‘जिली ईएक्स ५’ (Geely EX5) मार्फत विश्वस्तरीय ‘सर्ट ब्लेड’ ब्याट्री प्रविधि सार्वजनिक गरेको हो ।
अटोमोबाइल बजारमा पछिल्लो समय पेट्रोलियम गाडीको तुलनामा विद्युतीय गाडीतर्फ आकर्षण तीव्र देखिएको छ । तथ्याङ्कअनुसार नेपालमा आयात हुने कूल गाडीमध्ये करिब ७५ प्रतिशत हिस्सा ईभीले ओगटिसकेको छ । यस्तो अवस्थामा ग्राहकको प्राथमिकता केवल रेञ्जमा मात्र सीमित नभई ब्याट्रीको सुरक्षा, आयु र कार्यक्षमतामा केन्द्रित हुन थालेको छ ।
सुरक्षामा नयाँ मापदण्ड : ‘आगो र गोलीले पनि असर नगर्ने’
जिलीले आफ्नै अनुसन्धान र विकास (R&D) केन्द्रबाट विकास गरेको लिथियम आयरन फस्फेट (LFP) मा आधारित ‘सर्ट ब्लेड’ ब्याट्रीलाई सुरक्षाको दृष्टिकोणले निकै शक्तिशाली मानिएको छ । यसमा प्रयोग गरिएको ‘सेल्फ–फ्युजिङ’ प्रविधिले दुर्घटनाका क्रममा ब्याट्रीमा क्षति पुगे पनि सर्ट सर्किट हुन दिँदैन ।
यस ब्याट्रीको मजबूती प्रमाणित गर्न कम्पनीले कठोर परीक्षणहरू गरेको छ । अटोमोबाइल क्षेत्रमा एउटा सुईले ब्याट्री छेड्ने (Nail Penetration Test) सामान्य मानिए पनि जिलीले एकैपटक आठवटा ५ एमएमका किलाहरू घुसाएर परीक्षण गर्दा समेत ब्याट्रीमा कुनै आगलागी वा विस्फोट नभएको पाइएको छ । यसका साथै राइफलको गोली, प्रत्यक्ष आगो र पानीमा डुबाउँदा समेत यो ब्याट्री सुरक्षित देखिएको कम्पनीको दाबी छ ।
५० वर्षसम्म टिक्ने ब्याट्रीको आयु
ईभी प्रयोगकर्ताका लागि ब्याट्रीको आयु सधैँ चासोको विषय बन्ने गर्छ । जिलीको यो नयाँ प्रविधिले करिब ३ हजार ५ सय पटक चार्ज–डिस्चार्ज साइकल पूरा गर्न सक्छ । यसको अर्थ यो गाडी १० लाख किलोमिटरसम्म गुड्न सक्षम छ । यदि कुनै परिवारले वार्षिक औसत २० हजार किलोमिटर गाडी चलाउँछ भने यो ब्याट्री करिब ५० वर्षसम्म चल्ने देखिन्छ । यसले गर्दा भविष्यमा गाडीको पुनःबिक्री मूल्य (Resale Value) समेत राम्रो हुने विज्ञहरूको भनाइ छ ।

चिसो मौसममा पनि उत्कृष्ट प्रदर्शन
नेपालको हिमाली र उच्च पहाडी भेगमा चिसोका कारण ईभीको कार्यक्षमता घट्ने समस्या देखिने गर्छ । तर, जिलीको सर्ट ब्लेड ब्याट्री माइनस ३० डिग्री सेल्सियसको चरम चिसोमा पनि ९० प्रतिशतभन्दा बढी क्षमताका साथ चल्न सक्छ । माइनस २५ डिग्रीमा समेत यो ब्याट्री २० मिनेटमै ९० प्रतिशतसम्म चार्ज हुन सक्ने भएकाले नेपालको भौगोलिक अवस्थाका लागि यो निकै उपयुक्त मानिएको छ ।
शक्तिशाली मोटर र द्रुत चार्जिङ
जिली ईएक्स ५ मा १६० किलोवाटको शक्तिशाली मोटर जडान गरिएको छ, जसले मात्र ६.९ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति समात्न सक्छ । चार्जिङको कुरा गर्दा, १०० किलोवाटको डीसी फास्ट चार्जरबाट २० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसले लामो दूरीको यात्रालाई सहज र झन्झटमुक्त बनाउँछ ।
एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठका अनुसार नेपाली ग्राहकको सुरक्षा र दीर्घकालीन लगानीलाई ध्यानमा राखेर यो प्रविधि भित्र्याइएको हो । उनी भन्छन्, ‘नेपाली भूगोल र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दा ईएक्स ५ ले ईभी बजारमा नयाँ मानक स्थापित गर्नेछ । यो केवल एउटा गाडी मात्र नभई सुरक्षा र प्रविधिको उत्कृष्ट संगम हो ।’
आर्थिक र वातावरणीय योगदान
कोबाल्ट र निकेलजस्ता महँगा धातु प्रयोग नहुने एलएफपी प्रविधिका कारण यो ब्याट्री वातावरणमैत्री हुनुका साथै किफायती पनि छ । विद्युतीय सवारीको बढ्दो प्रयोगले नेपालको व्यापार घाटा कम गर्न र पेट्रोलियम पदार्थको परनिर्भरता घटाउन ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ । आधुनिक डिजाइन, विश्वस्तरीय सुरक्षा र लामो आयुका कारण जिली ईएक्स ५ ले नेपाली प्रिमियम ईभी बजारमा आफ्नो बलियो स्थान बनाउने अपेक्षा गरिएको छ ।








