नयाँ अनुहार, पुरानै नारा : फेरिएला त मुलुकको पारा ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरूले आफ्नो प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् । निर्वाचन आयोगले चुनावी प्रचारको समय खुला गरेसँगै यतिबेला मुलुकभर चुनावी सरगर्मी बढेको छ । दलहरू विकास निर्माण र सुशासनका पुरानै नारा बोकेर मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।

गत निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र भदौको ‘जेनजी’ आन्दोलनपछि चुनावी मैदानमा उत्रिएका नयाँ शक्तिहरूले समेत मतदातामाझ कुनै ठोस र नयाँ एजेन्डा ल्याउन सकेका छैनन् । नयाँ र पुराना दुवैथरि उम्मेदवारहरूले स्थानीय तह र प्रदेश सरकारको कार्यक्षेत्रमा पर्ने सडक, खानेपानी र मन्दिर निर्माणजस्ता आश्वासन बाँडेर मत मागिरहेका छन् ।

एमालेको ३० बुँदे आधार र ओलीको गुनासो
नेकपा एमाले झापा-५ ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिताउनुपर्ने ३० बुँदे आधार सार्वजनिक गरेको छ । जसमा राष्ट्रिय राजनीतिदेखि स्थानीय विकासका मुद्दा समेटिएका छन् । चुनावी घरदैलोका क्रममा ओलीले आफ्नो काम गर्ने शैलीको मजाक उडाइएको भन्दै मतदातासँग चित्त दुखाए । उनले भने, ‘देशभक्तिको काम गर्नै नहुने, यहाँ त सबै कुराको मजाक बनाइन्छ । गम्भीर कुरा गर्दा पनि उखान टुक्का भनेर उडाइन्छ ।’ उनले राम्रो काम गर्न खोज्दा देशभित्र र बाहिरका शक्तिहरूले अवरोध सिर्जना गरेको दाबी गरे ।

गगनको ‘आइटी सपना’ र दाहालको दाबी
नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै सर्लाही-४ मा प्रचार केन्द्रित गरेका छन् । उनले आगामी पाँच वर्षभित्र नेपाललाई ‘डिजिटल हब’ बनाउने योजना अघि सारेका छन् । केही समयअघि ल्यापटप चलाएरै लाखौँ कमाउन सकिने भनी उनले दिएको अभिव्यक्ति चर्चामा रहेको थियो । सोही विषयमा स्पष्ट पार्दै उनले भने, ‘यो हावादारी कुरा होइन, योजनाबद्ध सोच हो । सन् २०२४ देखि २०३४ सम्मलाई आइटी दशकका रूपमा अघि बढाएर ४ खर्बको सेवा निर्यात गर्न सकिन्छ ।’

यता, रुकुम पूर्वबाट उम्मेदवार बनेका नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जेनजी’ पुस्ताले आफूलाई नै देशको अभिभावकका रूपमा स्विकारेको दाबी गरे । उनले भने, ‘जेनजीका नेताहरूले प्रचण्डलाई नै प्रधानमन्त्री बनाउनुपर्ने रहेछ भन्न थालेका छन् । म पदको भोको होइन, तर जनताको चाहना बुझ्न जरुरी छ ।’

रविमाथि प्रश्न र बालेनको आरोप
चितवन-२ मा घरदैलो गरिरहेका रास्वपा सभापति रवि लामिछानेलाई मतदाताले ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट कैदी छुटाएको विषयमा प्रश्न गरेका छन् । लामिछानेले यस विषयमा जाँचबुझ आयोगले आफूलाई निर्दोष साबित गरिसकेको बताए । सहकारी ठगी र संगठित अपराधको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा उनी सुशासनको मुद्दा बोकेर मत मागिरहेका छन् ।

झापा-५ मा ओलीसँग भिड्न पुगेका बालेन साहलाई भने मतदाताले काठमाडौँको फोहोर व्यवस्थापनबारे प्रश्न सोधेका छन् । काठमाडौँ महानगरको प्रमुख पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका उनले फोहोर व्यवस्थापनमा विदेशी चलखेल भएको आरोप लगाए । उनले भने, ‘काठमाडौँमा अन्तर्राष्ट्रिय चलखेल भयो । प्रधानमन्त्रीको समेत दबाब थियो, त्यसैले फोहोर व्यवस्थापनमा मैले सोचेजस्तो सफलता पाउन सकिनँ ।’

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले अब ‘आसन, भाषण र शासन’ मा सुधार गर्ने उद्घोष गरे । लमजुङमा आयोजित एक कार्यक्रममा उनले अब कोही पनि प्रधानमन्त्री वा मुख्यमन्त्री दुई पटकभन्दा बढी हुन नपाउने गरी संविधानमै व्यवस्था गर्ने बताए । उनले भने, ‘बदलिएको कांग्रेसले कुनै पनि व्यक्ति सत्तामा निरन्तर बसिरहने परम्परा भत्काउनेछ । हामी १, २, ३ र ४ को नीति संविधानमा अंकित गर्नेछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 3 =