झाक्रीले राष्ट्रिय सभा निर्वाचनमा कति खर्च गरिन् ?

काठमाडौं । नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रामकुमारी झाक्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेकी छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले गत निर्वाचनमा भएको खर्चको पारदर्शिता देखाउँदै कुल २ लाख ३६ हजार रुपैयाँको विवरण बाहिर ल्याएकी हुन् ।
झाक्रीले सार्वजनिक गरेको विवरण अनुसार उनको सबैभन्दा बढी खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा भएको छ । यस शीर्षकमा उनले १ लाख २० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेकी छन् ।
खर्चको अन्य विवरण प्रस्तुत गर्दै उनले सवारीसाधनका लागि ६० हजार, इन्धनका लागि १५ हजार र कार्यक्रम सञ्चालनका लागि १५ हजार रुपैयाँ खर्च भएको बताएकी छन् । त्यसैगरी, प्रतिनिधि परिचालनमा १० हजार, प्रचारप्रसार सामग्रीमा ५ हजार, अन्य प्रचार कार्यमा ५ हजार र मतदाता नामावली खरिदका लागि ३ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । उनले विविध शीर्षकमा ३ हजार रुपैयाँ खर्च भएको जानकारी दिएकी छन् ।
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि प्रतिस्पर्धा गरेकी झाक्री गत माघ ११ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएकी थिइन् । निर्वाचन लगत्तै उनले आफ्नो खर्चको फेहरिस्त सार्वजनिक गरेकी हुन् ।









