अभिनेता थापाको निधन: नेपाली चलचित्र उद्योग शोकमा

काठमाडौँ । वरिष्ठ अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा निधन भएको छ ।
हृदयाघातका कारण शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाकाअनुसार स्वास्थ्यमा समस्या देखिएपछि थापालाई नर्भिक अस्पताल लगिएको थियो ।
शंखमुलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनी हाल नेपाली चलचित्र राम नाम सत्यको छायाँकनमा व्यस्त थिए ।
नेपाली चलचित्रमा ‘खलनायक’ भूमिकालाई नायक सरहको चर्चा र सम्मान दिलाउन सफल उनी ‘राते काइँला’ नामले विशेष रूपमा परिचित थिए । कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापा मिलनसार, अनुशासित र सबैलाई सम्मान गर्ने स्थापित कलाकार भएको बताए ।
नेपालको चलचित्र क्षेत्रमा उनको योगदान उल्लेखनीय रहेको अध्यक्ष निरौलाले उल्लेख गरे ।
उनले भने ‘उहाँ मिलनसार, सबैलाई इज्जत गर्ने र अनुशासनमा बस्ने कलाकार हुनुहुन्थ्यो । एउटा असल व्यक्तित्व हुनुहुन्थ्यो, नेपालका लागी स्थापित कलाकार ।’
निर्देशक तथा अभिनेता प्रशान्त ताम्राकारले थापाको निधनले नेपाली चलचित्र उद्योगलाई ठुलो क्षति पुगेको बताए । उनले आफ्नो चलचित्र यात्रामा सुनिल थापाको ठुलो सहयोग र योगदान रहेको बताए । उनले शुक्रवार मात्रै थापासँगै आफूले रामनाम सत्य नामक चलचित्रको छायाङ्कन गरेको बताए ।
उक्त चलचित्रको बाँकी कामको लागि दैलेख जाने योजना भए पनि अब अधुरो रहेको उनले बताए ।
उनले भने ‘मेरो चलचित्र उद्योगमा हुनु नै सुनिल दाइको ठुलो देन छ । उहाँको सहयोग नभएको भए म यो उद्योगमा हुने नै थिइन होला ।’
निर्माता दीपक कोइरालाले थापालाई आफ्ना अभिभावकसरह व्यक्तित्वका रूपमा स्मरण गर्दै उनले निधनले आफूलाई गहिरो पीडा पुगेको बताए । स्वर्गीय थापाले आफूलाई धेरै सहयोग र मार्गनिर्देशन गर्ने गरेको उनको भनाई छ ।
उनले भने ‘मेरो त उहाँ अभिभावन नै हो ।’
थापाका परिवारका सदस्यहरू भारतको मुम्बईमा बसोबास गर्दै आएका छन् । थापाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । परिवारका सदस्य काठमाडौँ आएपछि अन्तिम संस्कार गर्ने जनाइएको छ । हाल नर्भिक अस्पतालमा कलाकारहरूको बाक्लो उपस्थिति रहेको छ । वरिष्ठ कलाकार नीर शाह, निर्माता तुलसी घिमिरे, कलाकार विल्सनविक्रम राई लगायतका कलाकारहरू थापाको निधनको खबरपछि नर्भिक अस्पताल पुगेका हुन् ।








