रुस-युक्रेन युद्धबन्दी साटासाट : वार्तामा अमेरिकाको सक्रियता

मस्को । झण्डै चार वर्षदेखि जारी भीषण युद्धका बीच रुस र युक्रेनले ठूलो संख्यामा युद्धबन्दी र नागरिकहरूको साटासाट गरेका छन् । विगत चार महिनादेखि रोकिएको यो प्रक्रिया संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा भएको कूटनीतिक पहलपछि पुनः सुरु भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष अग्रसरतामा भएको दुई दिने सघन वार्ताको नतिजास्वरूप दुवै पक्षले १५७–१५७ जना गरी कुल ३१४ जनालाई स्वदेश फिर्ता पठाएका छन् । यसलाई युद्ध अन्त्यका लागि चालिएको एक सकारात्मक र रणनीतिक कदमका रूपमा हेरिएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार स्वदेश फर्किएका १५७ युक्रेनीमध्ये १५० जना सशस्त्र बल, नेशनल गार्ड र सीमा सुरक्षा बलका सैनिक हुन् भने ७ जना सर्वसाधारण नागरिक रहेका छन् । सन् २०२२ देखि रुसी कब्जामा रहेका आफ्ना नागरिक र सैनिकलाई घर फर्काउन पाउँदा खुसी व्यक्त गर्दै जेलेन्स्कीले रुसी जेलमा रहेका प्रत्येक युक्रेनीलाई मुक्त गराउने प्रतिबद्धता दोहोर्याएका छन् ।
यता, रुसी रक्षा मन्त्रालयले पनि आफ्ना १५७ सैनिकसहित युक्रेनी नियन्त्रणमा रहेका तीन रुसी सर्वसाधारणलाई सफलतापूर्वक मुक्त गरिएको पुष्टि गरेको छ ।
यसपटकको मध्यस्थतामा अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ र उनका ज्वाइँ जारेड कुश्नरले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । अबु धाबीमा भएको छलफल केवल कैदीबन्दी साटासाटमा मात्र सीमित थिएन । वार्ताको केन्द्रबिन्दुमा युक्रेनको क्षेत्रीय अखण्डता र भविष्यमा हुन सक्ने सम्भावित आक्रमणहरूलाई रोक्नका लागि आवश्यक ‘सुरक्षा ग्यारेन्टी’ को विषयले प्राथमिकता पाएको छ ।
विशेष दूत विट्कोफले वार्तालाई ‘विस्तृत र फलदायी’ भएको बताए पनि स्थायी शान्तिका लागि अझै धेरै काम बाँकी रहेको स्पष्ट पारेका छन् । रुसले युक्रेनको औद्योगिक क्षेत्र डोनबासको पूर्ण नियन्त्रण मागेको छ, जुन युक्रेनका लागि सबैभन्दा संवेदनशील र कठिन सर्त बनेको छ । राष्ट्रपति जेलेन्स्कीले पनि वार्ता चुनौतीपूर्ण रहेको स्वीकार गर्दै छिटो र सम्मानजनक नतिजाको अपेक्षा गरेका छन् ।
यो सकारात्मक प्रगति यस्तो समयमा भएको छ, जतिबेला रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा लगातार भीषण आक्रमण गरिरहेको छ । बिजुली, पानी र तापक्रमविहीन अवस्थामा लाखौँ युक्रेनीहरू कठ्याङ्ग्रिदो चिसोमा जीवन बिताउन बाध्य छन् । मानवीय संकट गहिरिँदै गएका बेला भएको यो बन्दी साटासाटले युद्धको ज्वाला मत्थर हुने एउटा सानो तर महत्त्वपूर्ण आशा जगाएको छ ।










