ससुराली गएर २१ वर्षीया श्रीमतीको हत्या गरेका युवक मृत भेटिए

काठमाडौं । मोरङको रंगेलीमा मंगलबार बिहान एक युवकले पत्नीको हत्या गरेका छन् । मंगलबार बिहान रंगेली-५ बहुवनका २१ वर्षीय मुकेशकुमार मण्डलले आफ्नै पत्नी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरी आफूले पनि आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार मुकेश सोमबार साँझ धनपट्टीस्थित ससुराली घर पुगेका थिए । मंगलबार बिहान करिब २ बजेको समयमा श्रीमान-श्रीमतीबीच सामान्य विवाद सुरु भएको र सोही क्रममा आवेशमा आएर मुकेशले अम्बिकामाथि चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चक्कुको गहिरो चोटका कारण अम्बिकाको घटनास्थलमै मृत्यु भएको थियो ।

श्रीमतीको ज्यान लिएपछि लगत्तै मुकेशले सोही हतियारले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए । मध्यरातमा भएको घटनाले गाउँ नै शोकमा डुबेको छ ।

घटनाको जानकारी पाउनासाथ मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालको नेतृत्वमा विशेष टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको विस्तृत मुचुल्का तयार गरी दुवै शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी गरिरहेको छ ।

मोरङ प्रहरीका अनुसार प्रारम्भिक रूपमा घटनाको कारण सामान्य पारिवारिक विवाद देखिए पनि यसको पृष्ठभूमि र अन्य प्राविधिक पक्षबारे गहन अनुसन्धान सुरु गरिएको छ । ‘सामान्य घरायसी झगडाले कसरी यति ठूलो घटनाको रूप लियो भन्ने विषयमा हामीले सूक्ष्म अनुसन्धान अगाडि बढाएका छौँ,’ डीएसपी लामिछानेले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =