नेपाली कम्युनिष्ट पार्टी नै कम्युनिष्ट आन्दोलनको मूलधार: नेता खतिवडा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता जगन्नाथ खतिवडाले वर्तमान कम्युनिष्ट आन्दोलनको मूलधार नेपाली कम्युनिष्ट पार्टी नै भएको दाबी गरेका छन् ।

सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले शनिवार काठमाडौँमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा उनले विचार, सिद्धान्त र समाजवादको लक्ष्यमा आधारित पार्टी नै नेपाली कम्युनिष्ट पार्टी भएको बताएका हुन् ।

उनकाअनुसार नेपाली कम्युनिष्ट पार्टी समाजवादको लक्ष्य हासिल गर्न दौडने शक्तिहरूको संयोग हो । उनले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति इङ्गित गर्दै आफूलाई क्रान्तिकारी दाबी गर्ने शक्तिहरूले साम्राज्यवादी शक्तिको आडमा जेन–जी आन्दोलनलाई दुरुपयोग गरेको आरोप लगाए । साम्राज्यवादी शक्तिको आडमा राष्ट्रिय शक्ति, जनताको एकता र देशभक्तिलाई कमजोर बनाउने प्रयास गरिरहेको उनको दाबी छ ।

यस्ता शक्तिहरूप्रति सचेत नहुँदा कम्युनिष्ट आन्दोलन सही दिशामा अघि बढ्न नसक्ने उनले बताए । नेता खतिवडाले कम्युनिष्ट आन्दोलनको रक्षा नगरी समाजवादको दिशामा पुग्न नसकिने उल्लेख गर्दै समाजवाद जनताको जीवनस्तर परिवर्तन गर्ने लक्ष्यसहितको मार्ग भएको बताए । उनले पार्टी सधैँ विचारसहितको विकासको पक्षमा रहेको र मार्क्सवाद–लेनिनवादलाई आफ्नो वैचारिक आधार मानेर अघि बढिरहेको स्पष्ट पारे ।

उनले भने ‘आजको कम्युनिष्ट आन्दोलनको मूलधार नेपाली कम्युनिष्ट पार्टी हो, अरू कोही होइन, हिजोका चुनावले कुनै एउटा दललाई बढी जनमत दियो होला, त्यो चुनावको संयोग हो । तर आजको नेपाली कम्युनिष्ट पार्टी विचारको संयोग हो । सिद्धान्तको संयोग हो र भावी दिनमा समाजवादको लक्ष्य प्राप्त गर्नको निम्ति दौडने शक्तिको संयोग हो । यो तपाई हाम्रो इज्जतको प्रतिष्ठाको र देशको राष्ट्रिय शक्ति वृद्धि गर्ने कुराको संयोग हो । यही कुरालाई बुझेर तपाईँहरू गाउँमा चुनावमा जानुहुनेछ । युवा विद्रोहमा मिसिएका केही निला स्यालहरू छन्, निला स्यालहरू, पार्टीको नाम भनिराख्न पर्दैन । रङ्ग भनिरहनु पर्दैन । मै हुँ क्रान्तिकारी भनेर देखा पर्ने यस्ता स्यालहरू साम्राज्यवादका पिछलग्गु बनेर बनेर अहिले समाजमा छटपटाई रहेका छन् । नेपालको राष्ट्रिय शक्तिलाई, नेपाली जनताको शक्तिलाई, देशभक्तिको शक्तिलाई छिन्नभिन्न पार्नेगरि अगाडी बढिरहेका छन् । विचारहीनहरू, दृष्टिकोणहीनहरू, सिद्धान्तहीनहरू, पश्चिामाहरुको पिछलग्घु बन्नेहरू आज दौडेको तपाईँहरू देख्न सक्नुहुनेछ । यसलाई सावधानी नराखीकन हाम्रो गन्तव्य ठिक बाटोमा जान सक्दैन । देशको कम्युनिष्ट आन्दोलनको रक्षा नगरी हामी समाजवादको दिशामा पुग्न सक्दैनौँ । समाजवाद जनताको मनको, जनताको जीवनस्तरको परिवर्तन गर्ने लक्ष्यको बाटो हो । हामी जहिले पनि विचारसहित विकासको पक्षमा छौँ । विचार मार्सवाद, लेनिनवाद, विकास जपक्षिय ।’

उनले नेपाली कम्युनिष्ट पार्टीले देशको प्रतिष्ठा र जनताको सम्मान वृद्धि गर्ने काम गरिरहेको बताए । यही बुझाइका साथ पार्टी कार्यकर्तालाई गाउँ–गाउँमा पुगेर चुनावी गतिविधिमा सक्रिय हुन आग्रह उनले आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =