निर्वाचनका लागि भारतद्वारा सुरक्षा सामग्री हस्तान्तरण: अर्थमन्त्रीद्वारा आभार व्यक्त

काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनार्थ भारत सरकारले नेपाललाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।

बिहीबार अर्थ मन्त्रालयमा एक कार्यक्रमबीच भारत सरकारले दङ्गा नियन्त्रण उपकरण र विभिन्न सवारी साधनहरू हस्तान्तरण गरेको हो ।

कार्यक्रममा अर्थमन्त्री खनालले बजेटमा निर्वाचनका लागि पर्याप्त व्यवस्था नभएको अवस्थामा भारतले गरेको यो सहयोगले नेपालको लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

मन्त्री खनालले भारतलाई नेपालको ‘फर्स्ट रेस्पोन्डर’ का रूपमा चित्रण गर्दै सन् २०१५ को विनाशकारी भूकम्पको समयमा भारतले देखाएको तदारुकताको स्मरण गरे ।

जनआन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सवारी साधनहरू क्षतिग्रस्त भएको सन्दर्भमा यी नयाँ सवारी साधनहरूले सुरक्षा निकायको कार्यक्षमता बढाउने विश्वास व्यक्त गरिएको छ । अर्थमन्त्रीकाअनुसार यी सामग्रीहरू सरकार आफैँले खरिद गर्नुपरेको भए राज्यलाई ठुलो आर्थिक भार पर्ने थियो । जसलाई भारतीय सहयोगले न्यूनीकरण गरेको छ ।

उनले भने ‘नेपाललाई संकट पर्दा भारत सधैँ पहिलो सहयोगीका रूपमा उभिएको छ, चाहे त्यो भूकम्पको समयमा होस् वा अहिले निर्वाचनको पूर्वसन्ध्यामा ।’

नेपाल र भारतबीचको सम्बन्ध छिमेकी मात्र नभई एक भरपर्दो विकास साझेदारको समेत रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले भविष्यमा यो मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गरे । भारत सरकारले नेपाल सरकारलाई उपहार स्वरूप २ सय ५० ओटा सवारी साधन दिएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ६ सय ५० सवारीमध्ये २५० उपलब्ध गराइएको र बाँकी आगामी साताभित्रै उपलब्ध गराइने भारतीय अधिकारीले बताए ।

कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले चुनावका लागि लक्षित गरेर भारत सरकारले अनुदानमा दिएका सवारीहरू स्वीकार गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 12 =