मुलुकको शिक्षाको विकासमा गिरिजाबाबुको महत्वपूर्ण योगदान छः मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको शिक्षा क्षेत्रको विकासमा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०३औँ जन्मजयन्तीका अवसरमा जिपी कोइराला मेमोरियल कलेज चाबहिलले आज यहाँ आयोजना गरेको १५औँ वार्षिकोत्सवमा मुख्यमन्त्री बानियाँले भने, “विसं २०४६ को परिवर्तनपछि गिरिजाबाबुको नेतृत्वमा बनेको सरकारले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याएको हो ।”
मुख्यमन्त्री बानियाँले नेपालमा लोकतन्त्रको संस्थागत विकास, शान्ति प्रक्रिया र राष्ट्रिय एकताका लागि गिरिजाप्रसाद कोइरालाले पु¥याएको योगदान ऐतिहासिक रहेको बताए । उनले मुलुकको राजनीतिक परिवर्तनसँगै शिक्षा क्षेत्रको विकासमा कोइरालाको दूरदर्शी सोच प्रेरणाको स्रोत बनेको उल्लेख गरे । गुणस्तरीय, व्यावहारिक र अनुसन्धानमुखी शिक्षामार्फत सक्षम, नैतिक र जिम्मेवार नागरिक उत्पादन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।
मुख्यमन्त्री बानियाँले जिपी कोइराला मेमोरियल कलेजले विगत १५ वर्षदेखि शिक्षा क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक संस्था बन्न सफल हुने विश्वास व्यक्त गरे । कार्यक्रममा कलेजलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।








