नेपाल-केन्द्रित यथार्थवाद : गगन थापाको नयाँ डक्ट्रिन

प्रसिद्ध समाजशास्त्री म्याक्स वेबर (Max Weber) ले आफ्नो कालजयी निबन्ध ‘पोलिटिक्स एज अ भ्याकेसन’ (१९१९) मा राजनीतिक नेतृत्वको सूक्ष्म परिभाषा दिँदै भनेका छन् ‘राजनीति भनेको कडा फल्याकहरूमा प्वाल पार्ने ढिलो र कठिन प्रक्रिया हो, जसका लागि जोशको आगो र विवेकको शीतलता दुवैको सन्तुलन चाहिन्छ ।’ यो भनाइ आज नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्रीको रूपमा अगाडि सारिएका गगन थापाको सन्दर्भमा अझ बढी सान्दर्भिक छ । गगनले विद्यार्थी राजनीतिबाट सुरु गरेर लोकतन्त्र आन्दोलन, सडक प्रदर्शन र संसदीय रोस्ट्रमसम्म आफ्नो जोशको जीवन्त प्रदर्शन गरेका छन् । २०८२ को नवौं महिनामा उनी नेपाली काँग्रेसको सभापति भए, दशौँ महिनामा प्रधानमन्त्रीका रूपमा पार्टीले अगाडि सारेको छ । एघारौं महिनाको अन्तिम सातामा हुने प्रतिनिधि सभाको निर्वाचनबाट सिंहदरबारको कार्यकारी प्रमुख बन्ने दौडमा छन् । गएको महिना विशेष महाधिवेशनमार्फत पार्टी सभापति चुनिएपछि गगन थापाको कदमलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ, तर शेरबहादुर देउवाको समूहलाई झट्का दिएको छ । यसले उनको प्रधानमन्त्री दौडलाई तत्काल मजबुत बनाएको देखिएको छ, साथै अदालतमा परेको मुद्दाको अन्तिम किनारा लागेको छैन । गत हप्ता नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले गगन थापालाई औपचारिक रूपमा प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको छ । यो संगीन घडीमा उनको जोशले मात्र होइन, विवेकले पनि परीक्षा दिनुपर्नेछ । मैले यो लेख प्रधानमन्त्रीका उम्मेदवार थापालाई केन्द्रित गरेर लेख्दै गर्दा अबको नेपाल नयाँ डक्ट्रिनले चल्नुपर्छ भनेर प्रस्ताव गरेको छु । सभापति थापाले विभिन्न समयमा विभिन्न औपचारिक कार्यक्रम र संसद्को रोस्ट्रममा बोलेको विषयलाई आधार मानेको छु । साथमा विश्वका सफल अभ्यासलाई सिकाइको रूपमा पनि प्रस्तुत गरेको छु । नेपालले दशकौंदेखि भोग्दै आएको ‘दुई छिमेकीको धर्मसंकट’, दक्षिणमा भारतमाथिको आर्थिक निर्भरता र उत्तरमा चीनको बढ्दो प्रभावबीचको संकुचन साथै आन्तरिक राजनीतिक घेराबन्दीबारे यो लेखले एक नयाँ दिशा दिनेछ भन्ने मेरो विश्वास हो । यी दुई सत्यताबीच नेता थापाको पुरानो आक्रामक शैलीलाई अब सैद्धान्तिक आधार दिनुपर्ने समय आइसकेको छ । प्रधानमन्त्रीका उम्मेदवार गगनले एउटा नयाँ ‘डक्ट्रिन’ अंगाल्नुपर्छ जसलाई मैले ‘नेपाल–केन्द्रित यथार्थवाद’ भनेको छु । यो कुनै भावुक वा अतिरञ्जित राष्ट्रवाद होइन, बरु नेपालको कठोर भू–राजनीतिक यथार्थको इमानदार स्वीकारोक्ति र त्यसको चतुर, व्यावहारिक व्यवस्थापन हो । यो डक्ट्रिनले नेपाललाई सधैंभरि ‘बफर स्टेट’ को भूमिकाबाट मुक्त गर्दै स्वायत्त राष्ट्रिय हितको संरक्षक बनाउन सक्छ ।

‘इन्डो–वेस्टर्न’ दबदबा
यो दबदबा नेपालको वर्तमान भू–राजनीतिक सन्दर्भमा पूर्णतः जीवन्त र सक्रिय छ । अन्तर्राष्ट्रिय सम्बन्धका प्रमुख यथार्थवादी विद्वान जोन मियर्सहाइमरको ‘अफेन्सिभ रियालिजम’ सिद्धान्तले भनेझैँ ‘महाशक्तिहरूले आफ्नो क्षेत्रीय प्रभुत्व कायम राख्न साना राष्ट्रहरूलाई ‘बफर जोन’ वा प्रतिस्पर्धी शक्तिविरुद्ध ‘प्रोक्सी हतियार’ को रूपमा प्रयोग गर्छन् ।’ २०२५ पछि दक्षिण एसियामा क्वाड जोडको सक्रियता (अमेरिका, भारत, जापान, अस्ट्रेलिया र साझेदारहरूको विस्तार) र नेपालमा बढ्दो चीनविरोधी कूटनीतिक भाष्यले एउटा नयाँ गठजोडको जन्म दिएको छ, जसलाई हामी ‘इन्डो–वेस्टर्न गठजोड’ भन्न सक्छौं । यो गठजोडको घोषित लक्ष्य इन्डो प्यासेफिक क्षेत्रमा चीनको प्रभाव रोक्नु हो, बीआरआईको विस्तार रोक्नु हो । साथै नेपालको सन्दर्भमा यसको अघोषित उद्देश्य भनेको चीनसँग दीर्घकालीन ‘संस्थागत मेमोरी’ भएको कम्युनिष्ट पार्टीहरूलाई कमजोर पार्नु पनि हो । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार नेपालको कुल व्यापारको करिब ८० प्रतिशत भारतसँग केन्द्रित छ, जसमा इन्धन, नुन–तेल र आधारभूत उपभोग्य वस्तुहरू लगायतको ठूलो हिस्सा पर्छ । अलिखित र अनौपचारिक व्यापार त झन् ठूलो छ । यसैगरी, अमेरिकी सरकारले एमसीसी लगायतको परियोजनामार्फत नेपालमा वार्षिक १० करोड डलरभन्दा बढी सहायता प्रदान गर्दै, खर्च गर्दै आएको छ । यी तथ्यहरूले गगन थापालाई यो क्याम्पको स्वाभाविक ‘रोजाइ’ बनाउँछन् किनभने गगन थापा आउँदो दशकको नेपाली शक्तिको केन्द्र हुन् । तर यो सतहमा सुनौलो अवसर जस्तो देखिए पनि गहिराइमा ‘महमा डुबाएको विष’ हो । नेता गगनले २०२२ मार्चमा एमसीसी संसद्बाट पास गराउँदा पश्चिमा क्याम्पमा अपार लोकप्रियता कमाएका थिए । सँगै उत्तरी छिमेकी चीनको ‘रातो किताब’ मा उनलाई शंकास्पद बनायो । गएको साल भदौमा पत्रकार सुधिर शर्माले लेखेको किताबको विमोचन कार्यक्रममा र मंसिरमा भएको एक कार्यक्रममा ‘चीनसँग सन्तुलित सम्बन्ध आवश्यक’ भन्ने अनि “नेपाली दलहरूप्रति चीनको नीति स्पष्ट छैन” भन्ने वक्तव्यले दिल्ली र वासिङ्टनलाई खुसीसँगै झस्का पनि दिएको छ । यदि नेता गगनले ‘नेपाल–केन्द्रित यथार्थवाद’ नअपनाई आफूलाई पूर्ण रूपमा दक्षिण–पश्चिम ढल्किए भने, हेनरी किसिन्जरको भनाइ जस्तै “परराष्ट्र नीतिमा स्थायी मित्र हुँदैनन्, स्थायी स्वार्थ हुन्छन्” ले पूर्ण सत्यता पाउनेछ । पश्चिमा शक्तिहरूको तत्कालीन स्वार्थ पूरा भएपछि गगनलाई ‘डम्प’ गर्नेछन् । अर्कोतर्फ चीनसँगको बिग्रिएको सम्बन्धले नेपाललाई युक्रेन–जस्तो दीर्घकालीन भू–राजनीतिक द्वन्द्वमा धकेल्न सक्छ, जसले आर्थिक र सुरक्षा दुवै क्षेत्रमा गम्भीर क्षति पुर्‍याउनेछ । यसलाई श्रीलंका, माल्दिभ्स र बंगलादेशको उदाहरण हेरे पुग्छ, टाढा जानुपर्दैन ।

आन्तरिक फ्रन्टमा ‘नयाँ शक्ति’ सँगको सहकार्य
राजनीतिक दार्शनिक निकोलस म्याकियावेलीले आफ्नो पुस्तक ‘द प्रिन्स’ (१५३२) मा शासकहरूलाई दिएको चेतावनी आज पनि सान्दर्भिक छ ‘अरूको शक्तिमा भर परेर सत्ता टिकाउने शासक अन्ततः त्यसैको बन्धक बन्छ, र आफ्नो स्वायत्तता गुमाउँछ ।’ गगन थापामाथि अहिले काठमाडौंमा यस्तै टिप्पणी गर्न थालिएको छ । विभिन्न शक्ति केन्द्रहरूबाट खतरनाक सल्लाहको वर्षा भइरहेको छ, सुँघ्न सकिने गरी गन्ध बाहिर आउन थालेको छ । ‘ओली वा देउवाजस्ता पुराना शक्तिसँग गठजोड गरेर रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहजस्ता नयाँ शक्तिलाई सिध्याऔं, अनि राजनीतिक मैदान खाली हुनेछ’ भन्न थालेको सूचना आएका छन् । अहिले तत्कालको लागि हेर्दा यी सल्लाह निर्वाचन केन्द्रित हुन् जस्तो पनि लाग्छ तर अन्तर्यमा गम्भीर राजनैतिक षडयन्त्र बोकेको छ । यो सल्लाह नै वास्तवमा नेता गगनको राजनीतिक आत्महत्या हो । विगतको निर्वाचन, उप–निर्वाचन र विभिन्न जनमत सर्वेक्षणहरूले ठूला सहर, नगर, सहरउन्मुख गाउँहरूमा त्यस नजिकका क्षेत्रमा ‘नयाँ शक्ति’ को जनाधार ३० प्रतिशतले नाघिसकेको देखाएको छ । यी शक्तिहरूले युवा मतदाता, मध्यम वर्ग र सुशासनप्रति असन्तुष्ट जनतालाई प्रतिनिधित्व गरेको पाइएको छ । गगनको आफ्नो मुख्य राजनीतिक पुँजी ‘पुस्तान्तरण’ र ‘विद्रोही भावना’ मा आधारित छ । बदलिँदो जनभावना पनि गगनको मुभ बसेको जस्तो देखिन्छ । यसलाई पुँजीकृत गर्न सकेनन् भने गगन थापा माथि उठ्न सक्दैनन् । यसले राजनीतिलाई पुनः ओली–देउवाको क्याम्पमा लैजानेछ र जनताले उनलाई ‘पुराना दलहरूको सिन्डिकेटको नयाँ म्यानेजर’ को रूपमा हेर्नेछन्, र उनको ‘चेन्जमेकर’ छवि यहीँ समाप्त हुनेछ । २०२५ सेप्टेम्बरको जेन–जी अपराइजिङले पुराना नेतृत्वलाई चुनौती दियो र अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति गर्‍यो । यस अपराइजिङले युवा मतदाता र सुशासनको मागलाई उजागर गरेको छ, जसले गगनको ‘पुस्तान्तरण’ छविलाई बल दिन्छ । नेता गगनले विशेष महाधिवेशनको सम्बोधनमा अग्रजहरूलाई ‘स–सम्मान बिदाइ गर्ने र फेरि सक्रिय नहुन चेतावनी दिँदै युवा ऊर्जा र आत्मविश्वासलाई जोड दिएका छन् । यसले जेन–जी अपराइजिङपछि युवा मतदाताहरूको असन्तुष्टिलाई सम्बोधन गर्दै गगनले नयाँ शक्तिसँग सहकार्यलाई प्राथमिकता दिन सक्छन् भन्ने विश्वास जगाएको छ । ‘नेपाल–केन्द्रित यथार्थवाद’ ले यसको मर्मलाई नै समाउँछ; गगनले पुराना शक्तिहरूसँग मिलेर नयाँहरूलाई दबाउने होइन, बरु नयाँ शक्तिहरूसँग ‘रणनीतिक सहकार्य’ वा ‘स्वस्थ प्रतिस्पर्धा’ मार्फत यथास्थितिवादी शक्तिलाई क्रमशः विस्थापित वा रूपान्तरण गर्नुपर्छ । व्यावहारिक उदाहरणका लागि, रवि लामिछानेसँग युवा रोजगार र पारदर्शी सुशासनको साझा एजेन्डामा काम गर्दै ‘बृहत लोकतान्त्रिक मोर्चा’ जस्तो गठबन्धन निर्माण गर्न सकिन्छ । यो दृष्टिकोणले गगनको आन्तरिक फ्रन्टलाई अझ मजबुत बनाउँछ र नेपाली राजनीतिमा नयाँ युगको सुरुवात गर्दछ ।

‘फिनल्याण्ड मोडल’ को व्यावहारिक अनुवादः पासीकिभीको पाठ
फिनल्याण्डका पूर्वराष्ट्रपति जुहो कुस्ती पासीकिभीले शीतयुद्धको चरम अवस्थामा (१९५६–८२ को आफ्नो कार्यकालमा) भनेका थिए ‘राजनीतिक बुद्धिमानीको सुरुवात तथ्यहरूको इमानदार स्वीकारोक्तिबाट हुन्छ ।’ नेपाल–केन्द्रित यथार्थवादको मूल आधार पनि यही हो । नेपालको भू–आर्थिक यथार्थ अत्यन्त स्पष्ट छः भारत नेपालको ‘अक्सिजन’ हो । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कुल आयातको ठूलो हिस्सा (इन्धनको ९० प्रतिशत, नुन–तेल र आधारभूत वस्तुहरू) भारतबाट आउँछ, जसलाई १८५० किलोमिटर खुला सीमा र भारतको समुद्री पहुँचले सहज बनाएको छ । यो तत्कालीन अस्तित्वका लागि अपरिहार्य छ । यसको विपरीत, चीन र यस सम्बन्धित समूह नेपालको ‘भिटामिन’ हो । गगन थापाले विगतमा केपी ओलीको राष्ट्रवादलाई ‘नक्कली राष्ट्रवाद’ भनेर आलोचना गरेका थिए; अब उनले आफ्नो राष्ट्रवादलाई यथार्थमा आधारित रूपमा परिभाषित गर्नुपर्छ । फिनल्याण्डले सोभियत रुसलाई ‘फिनल्यान्डाइजेसन’ नीतिको माध्यमबाट सुरक्षा ग्यारेन्टी दिँदै सन्तुलन कायम राखेको थियो; गगनले पनि भारतलाई चिढ्याउने होइन, बरु १९५० को भारत–नेपाल सन्धिलाई अद्यावधिक गर्दै ‘सीमा सुरक्षा, जलस्रोत र व्यापार’ मा पूर्ण आश्वासन दिनुपर्छ । यसका लागि जलविद्युत निर्यातको ‘कार्ड’ खेल्दै निर्भरतालाई पारस्परिक ‘अन्तर–निर्भरता’ मा रूपान्तरण गर्न सकिन्छ । साथै, युरोपियन युनियनको जीएसपी जोडको सुविधा जस्ता सफ्ट पावर र असंलग्न आन्दोलन र ग्लोबल साउथ मञ्च प्रयोग गर्दै बार्गेनिङ पावर बढाउनुपर्छ । कुनै एक ढोकामा मात्र निर्भर नभई सन्तुलित सञ्जाल निर्माण गर्नु नै यो डक्ट्रिनको केन्द्रीय सार हो ।

विश्व अभ्यासः सफल ‘यथार्थवादी’ मोडलहरू
गगन थापाले अंगाल्ने ‘नेपाल–केन्द्रित यथार्थवाद’ कुनै नौलो र अव्यावहारिक प्रयोग होइन । विश्वका सफल नेताहरूले भू–राजनीतिक चेपुवालाई चिर्न यस्तै रणनीति अपनाएको इतिहास छ । गगनले निम्न तीन विश्वव्यापी मोडलहरूबाट पाठ सिक्न सक्छन् ।

सिंगापुर मोडल (ली क्वान यु)ः ‘विषालु झिंगेमाछा’ – सिंगापुरका संस्थापक ली क्वान युले मलेसिया र इन्डोनेसिया जस्ता ठूला छिमेकीको बीचमा सानो टापु देशलाई सुरक्षित राख्न ‘यथार्थवाद’ अपनाए । उनले पश्चिमा सुरक्षा र चिनियाँ व्यापारलाई सन्तुलनमा राखे । उनको सिद्धान्त थियो ‘हामी कसैका लागि पनि खतरा होइनौं, तर हामीलाई निल्न खोज्दा त्यो विषालु साबित हुनेछ ।’ गगनले नेपाललाई पनि ‘आर्थिक हब’ बनाएर यस्तै अपरिहार्य शक्ति बनाउनुपर्छ, जहाँ नेपालको अस्थिरताले छिमेकीलाई नै घाटा होस् ।

भियतनाम मोडलः ‘बाँसको कूटनीति’ – भियतनामको कम्युनिष्ट पार्टीले ‘जरा बलियो (राष्ट्रिय हित) र हाँगा लचिलो (कूटनीति)’ भन्ने ‘बाँसको कूटनीति’ अपनाएको छ । चीनसँग सीमा विवाद र युद्धको इतिहास भएर पनि भियतनामले चीनसँग ठूलो व्यापार गर्छ, र सँगै चीनलाई सन्तुलन गर्न अमेरिकासँग ‘रणनीतिक साझेदारी’ गर्छ । गगनले सिक्नुपर्ने पाठ यही हो: ‘विचारधारा’ ले राष्ट्रिय स्वार्थलाई रोक्नु हुँदैन । लोकतान्त्रिक भएर पनि गगनले चीनसँग र भारतसँगको सम्बन्धलाई भियतनामले जस्तै लचिलो बनाउनुपर्छ ।

भारतीय मोडल (एस. जयशंकरको ‘बहु–संलग्नता’ को नीति)ः स्वयं भारतले अहिले ‘तटस्थता’ छोडेर ‘बहु–संलग्नता’ को नीति लिएको छ । भारत एकैपटक अमेरिका नेतृत्वको ‘क्वाड’ र चीन–रुस रहेको ‘ब्रिक्स’ अनि ‘एससीओ’ मा सक्रिय छ । गगनले भारतीय विदेशमन्त्री एस. जयशंकरको यही तर्कलाई प्रयोग गर्नुपर्छ र भन्न सक्नुपर्छ, ‘हामी भारतसँगै छौँ, त्यसैले भारत जहाँ जान्छ, हामी पनि त्यहीँ जान्छौँ ।’ यो विश्वव्यापी अभ्यासले गगनको डक्ट्रिनलाई अन्तर्राष्ट्रिय वैधता प्रदान गर्छ ।

‘बीपी डक्ट्रिन २.०’ र बेइजिङसँगको ‘सिधा प्रोटोकल’
नेपालको स्वतन्त्रता–उत्तर कालखण्डमा बीपी कोइराला मात्र त्यस्ता दूरदर्शी नेता थिए जसले सन् १९६० को दशकमा भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम गर्दै ‘हामी दुवैका मित्र हौं, तर कसैका क्लाइन्ट होइनौं’ भन्ने सिद्धान्त स्थापित गरे । गगन थापाले आफूलाई बीपीको राजनीतिक उत्तराधिकारी ठान्छन् भने अब ‘बीपी डक्ट्रिन २.०’ को रूपमा यसलाई २१औं शताब्दीको भू–राजनीतिमा अद्यावधिक गर्नुपर्छ । यसको केन्द्रीय रणनीति बेइजिङसँगको सम्बन्धमा नेपाली कम्युनिष्ट दलहरूको ‘ठेकेदारी’ लाई तोड्नु हो । गगनले तत्कालै ‘सिधा सम्पर्क प्रोटोकल’ स्थापना गरेर स्पष्ट सन्देश दिनुपर्छः ‘म लोकतन्त्रवादी हुँ, कम्युनिष्ट होइन । तर नेपालबाट चीनको कोर सुरक्षा स्वार्थ जस्तै तिब्बत स्थिरता र ताइवान मामिलामा कुनै पनि टिप्पणी र पोजिसन छैन ।’ यसको प्रत्यक्ष बदलामा गगनले चीनबाट दुई मुख्य लाभ लिन सक्छन्: पहिलो, राजनीतिक स्थिरताः नेपालको सरकार गिराउन वा बनाउन प्रयोग हुने ‘वाम एकता’ को कार्ड नखेल्ने प्रतिबद्धता । दोस्रो, विकास साझेदारीः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण मोडललाई ग्रान्टमा रूपान्तरण गर्ने वा काठमाडौं–पोखरा रेलमार्ग र औद्योगिक पार्क जस्ता ‘भिजिबल’ परियोजनाहरूमा तीव्र सहयोग लिने । यो प्रक्रिया गर्दा एमाले लगायतको शक्तिलाई पूर्ण बाइपास गर्नु हुँदैन; बरु परराष्ट्र नीतिको ‘राष्ट्रिय सुरक्षा चार्टर’ मा हस्ताक्षर गराएर ‘साक्षी’ को भूमिका दिनुपर्छ । यसले पारस्परिक विश्वास निर्माण गर्छ र गगनलाई गुटीय सभापतिबाट राष्ट्रिय नेता ‘स्टेट्सम्यान’ को उचाइमा पुर्‍याउँछ । आगामी निर्वाचन अघि नै गगनले बेइजिङसँग ‘सिधा प्रोटोकल संवाद’ स्थापना गर्दै इतिहासलाई सन्तुलित बनाउन सक्छन् । यसले डक्ट्रिनलाई व्यावहारिक बनाउँछ ।

‘देउवा–ओली काउन्टर मुभ’ र एस. जयशंकरको ‘बहु–संलग्नता’
गगन थापाको प्रधानमन्त्री यात्राको सबैभन्दा व्यावहारिक चुनौती भनेको के देउवा र ओलीले उनलाई सत्ता सजिलै सुम्पिएलान् भन्ने हो । नेपालमा देउवा–ओली व्यक्ति नभएर प्रवृत्ति हुन्, जसको जरा निकै तलसम्म गएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वासलाई अझै पनि आफ्नो अनुकूलतामा खेलाउन सक्छन् । अर्कोतर्फ अन्तर्राष्ट्रिय तथा आन्तरिक शक्ति केन्द्रहरूको मनोविज्ञान सधैं ‘जोशले भरिपूर्ण अनटेस्टेड एन्जल’ (गगनजस्तो) भन्दा ‘बार्गेनिङ गर्न सकिने अनुभवी टेस्टेड डेभिल’ (देउवा/ओलीजस्ता) लाई बढी रुचाउँछ । यदि गगनले यो डक्ट्रिनमार्फत आन्तरिक राजनीतिमा अत्यधिक स्वतन्त्र र स्वायत्त नीति लिए भने देउवा र ओलीले खेल्ने स्पेस पाउनेछन् । देउवा र ओलीले ‘राष्ट्रिय स्थिरता कायम राख्न’ वा ‘संविधान संशोधन आवश्यक’ जस्ता बहानामा पुनः राष्ट्रिय राजनीतिमा आउने गरी मुभ गर्न सक्छन्, नयाँ बहसको नाममा आन्दोलन र अस्थिरता सिर्जना गर्न सक्छन् । यसले आर्जन गरेको शक्तिले आलोपालो सरकार चलाउने र गगनलाई राजनीतिक रिङबाट ‘रङ आउट’ गर्ने गुप्त रणनीति अपनाउन सक्छन्, जसलाई ‘साम्राज्य फेरि फर्कन्छ’ भन्न सकिन्छ । गएको महिनामा १० कम्युनिस्ट पार्टीहरू (प्रचण्ड र माधव नेपालको नेतृत्वमा) मर्ज भएर ‘नेपाली कम्युनिस्ट पार्टी’ बनेको छ । यसले तत्काल एमालेलाई कमजोर पार्ने र रक्षात्मक बनाउने ‘इन्डो–वेस्टर्न’ गठजोडको कुरालाई बल दिन्छ तर नेता गगनको लागि नयाँ चुनौती हो । कम्युनिस्टहरूको एकीकरणले गगनलाई ‘बीपी डक्ट्रिन २.०’ मार्फत वाम एकताको कार्डलाई निष्क्रिय पार्न आवश्यक बनाएको छ । कम्युनिष्ट फेरी कहिल्यै मिल्न नदिने गरी काम गर्नुपर्ने छ । यस घेराबन्दीलाई तोड्न गगनले भारतीय विदेशमन्त्री एस. जयशंकरको ‘बहु–संलग्नता’ सिद्धान्तलाई कुशलतापूर्वक प्रयोग गर्नुपर्छ । जयशंकरले एक किताबमा भनेका थिए, ‘भारत सबैसँग सहकार्य गर्छ, तर कसैको विरुद्धमा होइन ।’ गगनले यो तर्कलाई नेपाली बनाउँदै भन्न सक्छन्ः ‘हामी भारतसँगै अभिन्न रूपमा जोडिएका छौं, भारत हाम्रो सबैभन्दा नजिकको मित्र हो । त्यसैले भारत जुन मञ्चमा छ – ब्रिक्स, एससीओ वा अन्यमा – हामी पनि त्यहीँ सक्रिय सहभागी बन्न चाहन्छौं ।’ यो तर्कले भारतको कुनै पनि विरोधी धारणा रोक्छ (किनकि भारत आफैं ब्रिक्सको संस्थापक सदस्य हो) र नेपाललाई पश्चिमा दबाबबाट बचाउँदै रणनीतिक स्वायत्तताको वैध विकल्प प्रदान गर्दछ । यसैगरी, आसियान र बिमस्टेक जस्ता क्षेत्रीय मञ्चहरूमा सक्रियताले थप लचकता दिन्छ । नेपालको ब्रिक्स, एससीओमा सक्रियता बढ्छ, जसले विश्वमञ्चमा बहुआयामिक सम्बन्धहरू स्थापित हुन्छ । संवादहरू र संलग्नताहरू बढ्छ । फलस्वरूप देउवा–ओलीको सरोकार सकिन्छ र नयाँ भाष्यमा विश्वमञ्चमा नेपाल उभिन्छ ।

‘नेपाल–केन्द्रित यथार्थवाद’
‘नेपाल–केन्द्रित यथार्थवाद’ परम्परागत नेपाली विदेशनीतिको ‘असंलग्नता’ वा यान्त्रिक ‘समदूरी’ सिद्धान्तभन्दा नितान्त भिन्न र सक्रिय रणनीतिको हो । यसको जरा अन्तर्राष्ट्रिय यथार्थवादमा छ, तर केन्द्र नेपालको राष्ट्रिय हितमा । यस डक्ट्रिनको सार भनेको काठमाडौंले बेइजिङलाई हेर्दा दिल्लीको चस्मा लगाउने वा दिल्लीलाई हेर्दा वासिङ्टनको लेन्स प्रयोग गर्ने होइन, बरु आफ्नो राष्ट्रिय हितको ‘नाङ्गो आँखा’ बाट विश्वलाई हेर्ने साहस हो । यसले दुई प्रकारका अतिवादलाई अस्वीकार गर्छः एकातिर भावुक ‘अन्ध–राष्ट्रवाद’ जसले यथार्थ बेवास्ता गर्छ, अर्कोतिर लाचार ‘आत्मसमर्पण’ जसले स्वायत्तता गुमाउँछ । यसको मूल मन्त्र कठोर भू–राजनीतिक सत्यको स्वीकार होः भारत नेपालको ‘अस्तित्वको भूगोल’ हो । खुला सीमा, आर्थिक पहुँच र सुरक्षा बफर हो । चीन र ग्लोबल साउथ भनेको ‘समृद्धिको अवसर’ हो, पूर्वाधार लगानी र बजार विस्तारको अवसर हो । गगन थापाले अंगीकार गर्नुपर्ने यो वादले भन्छ ‘हामी कसैको ‘प्रोक्सी’ वा ‘बफर’ मात्र बन्दैनौं, तर राष्ट्रिय स्वायत्तता जोगाउन जोसँग हित जोडिन्छ त्यससँग सहकार्य गर्छौं, चाहे त्यो वासिङ्टन, दिल्ली, बेइजिङ वा ब्रसेल्स होस् ।’ व्यावहारिक रूपमा, यो दूतावासहरूबाट नेपालको ‘निर्णय गर्ने अधिकार’ खोसेर सिंहदरबारमै फर्काउने र संस्थागत गर्ने अचूक अस्त्र हो । यो डक्ट्रिनले नेपाललाई ‘प्यासिभ बफर’ बाट ‘एक्टिभ प्लेयर’ बनाउँछ ।

यस डक्ट्रिनका मुख्य तत्वहरू यस प्रकार छन्ः भारतसँग अन्तर–निर्भरता भनेको आर्थिक निर्भरतालाई पारस्परिक बनाउने हो, जसको उदाहरण ९०% इन्धन आयातलाई जलविद्युत निर्यातसँग जोड्ने हो; चीनसँग विकास साझेदारी भनेको बीआरआई परियोजनाहरूमा सहयोग हो, जसको उदाहरण पोखरा एयरपोर्ट ऋणलाई ग्रान्टमा रूपान्तरण हो; नयाँ शक्तिसँग सहकार्य भनेको युवा एजेन्डामा गठबन्धन हो, जसको उदाहरण जेन–जी अपराइजिङपछि सँग ‘ग्रान्ड अलायन्स’ हो; अन्तर्राष्ट्रिय सन्तुलन भनेको बहु–संलग्नता हो, जसको उदाहरण ब्रिक्समा नेपालको सक्रियता भारतमार्फत हो ।

गगनको छनोट र कार्यान्वयन रोडम्याप
गगन थापा अहिले नेपालको राजनीतिक इतिहासको सबैभन्दा निर्णायक मोडमा उभिएका छन्, जहाँ कुनैपनि गल्तीको मूल्य देशले चुकाउनुपर्छ । यदि उनी पुरानै ढर्रामा विदेशी इशाराको पछि लागेर र आन्तरिक गुटबन्दीमा व्यस्त रहँदा सफल भए जस्तो देखिए पनि, यो व्यक्तिगत विजय हुनेछ तर राष्ट्रिय हार । उनी इतिहासमा अर्को ‘असफल प्रयोग’ का रूपमा स्मरणीय हुनेछन् । तर, यदि गगनले ‘नेपाल–केन्द्रित यथार्थवाद’ लाई आफ्नो मूल मन्त्र बनाएर दुई छिमेकीको संवेदनशीलता बुझ्ने, नयाँ शक्तिसँग रणनीतिक सहकार्य गर्ने, र विश्व मञ्चमा नेपालको स्वाभिमान स्थापित गर्ने बाटो अपनाए भने, उनी केवल एक अस्थायी शासक होइनन्, आधुनिक नेपालको सच्चा ‘स्टेट्सम्यान’ बन्नेछन् । यो डक्ट्रिन गगन थापाका लागि व्यक्तिगत राजनीतिक अस्त्र मात्र होइन, नेपालको भू–राजनीतिक अस्तित्व रक्षा तथा उन्नतिको अनिवार्य आवश्यकता हो भन्ने प्रमाणित हुनेछ । गगनले यो डक्ट्रिन अपनाए भने, जेन–जी अपराइजिङ र कम्युनिस्ट एकीकरणको परिवेशमा नेपाललाई ‘एक्टिभ प्लेयर’ बनाउन सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 13 =