राजनीतिले ठगेको समाजका कथा, ‘छुटेको सपना’ (तस्बिरहरू)

काठमाडौँ। बत्तिसपुतलीमा अवस्थित शिल्पी थिएटरले आज माघ १३ गते मुक्त रङ्गमञ्च नाटक ‘छुटेको सपना’ को विशेष प्रदर्शनी गरेको छ। समाजका आम मानिसले देखेका सपना र राजनीतिक नेतृत्वबाट पटक–पटक ठगिँदै आएको यथार्थलाई नाटकले मञ्चमा उतारेको छ।
रङ्गकर्मी घिमिरे युवराजको लेखन तथा निर्देशनमा तयार भएको यो नाटकले राजनीतिक आश्वासन र व्यवहारबिचको खाडल, र त्यसले आम समुदायमा पारेको प्रभावलाई कलात्मक रूपमा उजागर गर्ने प्रयास गरेको छ। मुख्य राजमार्ग र बजार क्षेत्रभन्दा अलिक पर रहेका गाउँ बस्तीका समुदायसम्म पुगेर नाटक मञ्चन गर्ने अवधारणाले यसलाई अझ विशेष बनाएको निर्देशक युवराज घिमिरे बताउँछन्।
उनका अनुसार माघ १४ गतेदेखि देशका सातै प्रदेशका १५ स्थानमा यो मुक्त रङ्गमञ्च नाटक मञ्चन गरिनेछ। नाटकको पहिलो प्रस्तुति मोरङ जिल्लाबाट सुरु हुने जानकारी पनि उनले दिए।
करिब ७० मिनेट लामो ‘छुटेको सपना’ मा अनुप तिमिल्सिना, गोविन्द वली, सुमित भण्डारी, रविन परियार, पवित्र खड्का, सुशीला लुहार, धनराज सुनार, सङ्गीता उराँव, योगेन्द्र बराल, उत्सव कार्की, सम्पदा राई, इच्छा सिंह र कञ्चन दासको अभिनय रहेको छ। कलाकारहरूको सामूहिक प्रस्तुतिले नाटकलाई थप सशक्त बनाएको देखिन्छ।
तस्बिरहरू:-









