सपना बोकेर इन्डिया पुगेका निर्मल, कसरी बने ‘स्ट्रिट डान्सर’? (भिडिओ)

काठमाडौँ । सुदूरपश्चिम धनगढीका २३ वर्षीय युवा निर्मल खड्का भारतीय डान्स ‘रियालिटी शो’ हरूबाट प्रभावित थिए । मध्यम वर्गीय परिवारमा जन्मेका उनलाई अन्य कन्टेस्ट्यान्टहरू जस्तै भारतमा गएर परिवार र देशको नाम राख्छु भन्ने लाग्दथ्यो ।
सोही योजना अनुसार उनी १२ कक्षाको परीक्षा भन्दा ३–४ महिना अघि धनगढीकै एक डान्स एकेडेमीमा भर्ना भए । त्यसपछि ‘रियालिटी शो’ मा भाग लिन्छु भनी भारतमै रहेका मामा (राजकुमार वली) लाई खबर गरे । मामाले स्वीकृति दिनुभयो । काम पनि खोजिदिनुभयो । त्यसपछि विभिन्न सपनाहरू बुन्दै उनी भारत पुगे ।
भारत पुगेको भोलिपल्ट नै उनी काम गर्न थाले । त्यहाँ उनले वाचम्यान, चस्मा पसल, डेलिभरी ब्याइ र घरको काम गर्न थाले । उनी दिनको १२ घण्टा त्यहाँ काम गर्थे भने ओटी गर्दा त झन् १४/१५ घण्टा ओर्किङ्ग आवर पुग्दथ्यो । जसकारण उनी डान्ससँग जोडिन सकिरहेका थिएनन् ।
उनले भने ‘शरीर पुरै थालेको हुन्थ्यो । डान्स गर्नै सकिँदैनथ्यो । डान्स क्लासमा पनि धेरै पैसा लाग्थ्यो । केही बाटो नदेखेपछि सडकमा निस्किए म ।’
उनले आफू जुन काममा लागि भारत गएको हो सोही काम गर्न नपाएपछि आफू सडकमा नाच्न बाध्य भएको बताए ।
‘यो तरिकाले हुदैँन् अब म सडकमा डान्स गर्छु भन्ने सोच बनाए । त्यसबाट मानिसहरूले मलाई चिनोस् । आफूलाई पनि केही इनकम, ट्राभल र खाजा खर्चको लागि पैसा होस् भनेर मैले सुरु गरेको हुँ ।’
उनले ‘स्ट्रिट डान्स’ गरेर कमाएको पैसाबाट गरिब, दुःखी र असहायहरूलाई पनि सहयोग गर्दै आएका छन् । यसबीच विभिन्न अपमान र अवरोधहरूको सामना गर्नु परेको उनले दु:खेसो पोखे । अब मेचीदेखि महाकालीसम्मै ‘स्ट्रिट डान्स’ गर्ने आफ्नो योजना रहेको उनले बताए ।
हेर्नुहोस् ‘स्ट्रिट डान्सर’ निर्मल खड्कासँग गरिएको पुरा कुराकानी:








