फागुन २१ को चुनावपछि नेपालको प्रधानमन्त्री गगन थापा हुन् : सहमहामन्त्री रसाईली

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाईलीले नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । सहमहामन्त्री रसाईलीले कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट साधारण र सुविधाजनक बहुमत हासिल गर्ने दाबी गरेका हुन् ।
उनले कांग्रेस एकढिक्का भएर निर्वाचनमा होमिएको बताउँदै आन्तरिक समीकरणलाई मिलाउन पार्टीभित्रका समूहलाई सम्बोधन गरिएको बताए । अहिलेको परिस्थितिमा देशलाई सम्हाल्ने र अन्य राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम गरेर अघि बढ्न सक्ने व्यक्ति गगन थापा नै रहेको जिकिर गरे । उनले आफूहरूले कांग्रेस बदलेको र अब देश बदल्ने गरी अघि बढिरहेको पनि बताए । सहमहामन्त्री रसाईलीले आफूहरूले युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गर्ने र सुशासन कायम गरेर अघि बढ्ने बताए । फागुन २१ गतेपछिको नेपालको प्रधानमन्त्री गगन थापा नै भएको बताए ।
उनले भने, ‘हाम्रो पार्टीको यसअघि बसेको केन्द्रीय समितिको बैठकले एउटा मुद्दा निर्धारण गरेको छ । हाम्रो पार्टीका नेता गगनकुमार थापा र श्रद्धेय पूर्वसभापति शेरबहादुर देउवा अहिले हामी सबै पार्टीका नेताहरू देशभर एक ठाउँमा छौँ । हामीले पार्टीको आन्तरिक समीकरणलाई मिलाउनका निम्ति सबै पार्टीभित्रका समूहलाई सम्बोधन गरेका छौँ । नेपाली कांग्रेसका नेताहरूले शालीनतापूर्वक देशलाई कांग्रेसले सम्हाल्नुपर्छ , मुठभेडको राजनीतिबाट सम्हाल्ने राजनीतिमा लगेर आजको स्थितिमा देश पुगेको छ । त्यसको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । कांग्रेसले केन्द्रीय समितिको बैठकबाट कांग्रेस बदल्यौँ अब देश बदल्छौँ भनेर जुन नाराका साथ अघि बढेको छ । जेन–जी आन्दोलनको सम्मान गर्दै परिवर्तनको नेतृत्व गर्ने गरी अघि बढेका छौँ । विद्यार्थी राजनीतिबाट खारिएर आएको व्यक्तिलाई कांग्रेसले भावी प्रधानमन्त्री घोषणा गरेको छ । उनको नेतृत्वमा हामी चुनावमा जान्छौँ । हाम्रो कुनै राजनीतिक पार्टीसँग आग्रह र पूर्वाग्रह छैन । तर मुद्दा, निष्कलंक छवि, इतिहासका हिसाबले सडक होस् वा संसदमा जिम्मेवारीका हिसाबले नेपाली कांग्रेसको नेतृत्व गगन थापाले गरेका छन् । हामी बहुमत ल्याएर जेन–जी पुस्ताको सडकमा बगेका रगतलाई हेरेर उनीहरूको सुशासनको मुद्दालाई सम्बोधन गर्छौं । विदेश पलायनको अवस्थालाई सम्बोधन गरेर नेपालमै बस्न सक्ने वातावरण निर्माण गर्न लाग्छौँ । अबको प्रधानमन्त्री फागुन २१ गतेको प्रधानमन्त्री र नेपाली कांग्रेसको प्रस्तावित प्रधानमन्त्रीको उम्मेदवार गगन थापा हो । नेपाली कांग्रेसले सामान्य ढंगले साधारण बहुमत, सुविधाजनक बहुमत संसदमा ल्याउँछ । कांग्रेसले जति इतिहासका परिवर्तन र क्रान्तिको नेतृत्व गर्यो, त्यो पछिल्लो पटक जेन–जी आन्दोलनलाई सम्हाल्ने किसिमले जानुभयो । नेपाली युवाहरूको आकर्षणको केन्द्र, मित्रराष्ट्रको सम्बन्धलाई सन्तुलित रूपमा मिलाएर लैजान सक्छन् ।’
उनले निर्वाचनलाई बलियो बनाइ रुख चिह्नलाई बलियो बनाउने गरी आफूहरू अघि बढिरहेको दाबी गरे । निर्वाचन टिकटमा पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहका नेताहरू सबैले न्याय पाएको उनको तर्क छ ।








