‘पुराना दल खराब भए, नयाँ दल चाहिन्छ’ भन्ने नारा क्रान्तिकारी होइन: विप्लप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले पुराना दल गलत भएकोले नयाँ दल चाहिन्छ भन्ने नारा क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै भएको बताएका छन् ।

शनिवार आयोजित पार्टीको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले हाल राजनीतिक वृत्तमा फैलाइएको नयाँ–पुराना दलको बहस वास्तविक समस्याबाट ध्यान हटाउने प्रयास मात्रै भएको बताएका हुन् ।

उनले नेपालमा दलको समस्या नभएर जनताले चाहेको जनताको सेवा गर्ने राज्यसत्ता भएको बताए । जनताको पक्षमा निर्णय गर्ने र न्यायपूर्ण ढङ्गले फैसला लिने सत्ता आजको आवश्यकता भएको उनको भनाई छ । उनकाअनुसार अहिले सत्ताको बहस ओझेलमा पारेर बाहिरी फैलाइएको नयाँ र पुराना दलको हल्लाखल्ला सत्य नभएको दाबी गरे ।

उनले पुराना दलले भ्रष्टाचार र विकृतिको जन्म दिएको सही भएपनि नयाँ दल आएपछि मात्रै अवस्था स्वतः सुध्रिन्छ भन्ने धारणा भने गलत रहेको बताए । नयाँ दलप्रति जनतामा देखिएको आशा केही हदसम्म पुराना दलको असफलताबाट जन्मिएको भएपनि पुरानो राज्यसत्ता यथावत रहेसम्म नयाँ दल आएर मात्रै समस्या समाधान नहुने उनको भनाई छ ।

उनले राजनीतिक सङ्घर्षको मूल विषय पुराना र नयाँ दलबीच नभई पुरानो सत्ता र जनताको बीचको सङ्घर्ष भएको बताए । उनले नयाँ नेता र पुराना नेताको बहस पनि वास्तविक निकास दिने तर्क नरहेको बताए । उनकाअनुसार २५–३० वा ४०–४५ वर्षको नयाँ अनुहार आएपछि सबै ठिक हुने र पुरानो मान्छेले राम्रो गर्न सक्दैन भन्नेकुरा सत्य होइन । उमेरभन्दा पनि दृष्टिकोण महत्त्वपूर्ण भएको उनले बताए ।

उनकाअनुसार मान्छे उमेरले पुरानो हुनसक्छ तर उसले बोकेको दृष्टिकोण के हो भन्ने कुरा निर्णायक हुन्छ ।

उनले भने ‘अहिले लागेको नारामा पुराना दल गलत, नयाँ दल चाहिन्छ भन्ने नारा चाहिँ क्रान्तिकारी नारा होइन । यो चाहिँ भुलभुलैया गर्ने, जनतालाई भ्रमित पार्ने नारा हो । यहाँ दलसँगको समस्या होइन, जनतलो चाहेको त सत्ता हो नि । जनताले चाहेको त आफ्नो सेवा गर्ने हो, आफ्नो पक्षमा निर्णय गर्ने हो । न्यायपूर्ण ढङ्गले फैसला लिने सत्ता चाहिएको हो नि जनताले । त्यो नयाँ दल र पुराना दलको कुरा होइन । दृष्टिकोण कस्तो छ रु भन्नेसँग सम्बन्धित छ, त्यसैले यहाँ सत्ताको बहस जसरी ओझेलमा परेको छ, हामीले पहिले बुझ्नुपर्ने अहिलेको यो बाहिर छाएको छ नि, बाहिर हल्लाखल्ला छाएको जो कुराहरू छ, त्यसलाई हामीले चिर्नुपर्छ । त्यो सबै सत्य होइन । अलिअलि सत्य के हो भने पुराना दलमा भन्दा नयाँ दलमा गएपछि जनतालाई थोरै सुधार, थोरै राहत, थोरै शान्ति मिल्छ की भन्ने कुराको हिसाबले त पुरानो दल र नयाँको पनि भन्न सकिन्छ । त्यस हिसाबले त किनभने पुराना दलहरू कामै नलाग्नेगरि खत्तम भए, त्यहाँबाट भ्रष्टाचार जन्मियो, विकृति जन्मियो, त्यहाँबाट सारा जनतालाई लुटपाट भयो, देश चाहिँ राष्ट्रघातमा पयो भन्ने हिसाबले पुराना दलले गरेनन् भन्नेकुरा एक तहसम्म त मिल्छ, तर यो चाहिँ कति सत्य होइन भन्दाखेरि नयाँ दल आउने बित्तिकै यो सत्ता यस्तै रह्यो भने अनि ठिक भइहाल्छ भन्ने कुरा चाहिँ सत्य होइन । पुराना दल र नयाँ दलको बहस अलिअलि सत्य हो, त्यो भन्दा बढी ठुलो कुरा के हो भने पुरानो सत्ता र जनताको बीचको सङ्घर्ष मुख्य कुरा हो । पुराना नेताको समस्या हो तर नयाँ नेता र पुराना नेताको समस्या पनि मुख्य होइन । नयाँ आउने बित्तिकै, कुनै नयाँ अनुहार टक्क परेको भर्खरको २५/३० वर्षको या ४०/४५ वर्षको मान्छे आउने बित्तिकै राम्रो गरिहाल्छ र पुरानो मान्छेले चाहिँ राम्रो गर्दैन भन्ने कुरा चाहिँ सत्य कुरा होइन । दृष्टिकोण के हो ? आजको समस्यालाई हेर्ने नयाँ र पुरानाको दृष्टिकोण के हो ? मान्छे उमेरले पुरानो हुनसक्छ, तर उनीहरूले भन्ने कुरा के हो भन्ने कुरा धेरै महत्त्वपूर्ण छ । त्यसकारण पुरानो नेता र नयाँ नेताको बहस पनि वास्तविक अहिलेको समस्यालाई निकास दिने बहस होइन । यो पनि भुलभुलैयामा पार्ने, यो जनतालाई अलमलमा पार्ने एउटा गुलियो पोतिएको नारा हो । पुरानो सत्तालाई बदल्ने दृष्टिकोण भएको नेताहरू चाहियो नि त । पुरानो चरित्रका सत्ताहरूलाई बदल्न सक्ने, त्यहाँभित्र भएका विकृतिहरूलाई फेर्न सक्ने नेता चाहियो नि त । के नयाँ भन्नेहरूबाट त्यो देखियो त ?’

महासचिव चन्दले पुरानो सत्ता संरचना र चरित्र बदल्नसक्ने स्पष्ट दृष्टिकोण भएका नेताको आवश्यकता औँल्याए । उनले नयाँ भन्नेहरूमध्ये कसैबाट पनि त्यो परिवर्तनकारी दृष्टिकोण नदेखिएको दाबी गरे । पुरानो सत्तालाई बदलेर जनताको सत्ता निर्माण गर्नसक्ने शक्ति नेकपा माओवादी मात्रै भएकोले जनतालाई यो कुरा बुझाउन उनले निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =