किराँत मिथक ‘थिबिया’को समकालीन पुनर्व्याख्या : ‘ए थिबेउ !’को मञ्चन सुरु (तस्बिरहरू)

काठमाडौं । के हामी अरूको अस्तित्व मेटाउँदै त छैनौँ ? यही प्रश्नलाई केन्द्रमा राख्दै नाटक ‘ए थिबेउ !’ को बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा माघ ९ गतेदेखि मञ्चन सुरु भएको छ । रङ्गकर्मी वेदना राईको निर्देशनमा तयार भएको यो नाटक छड्के टोपी आर्ट्स एन्ड स्टुडियोको प्रस्तुतिमा निर्माण भएको हो ।
किराँत समुदायको पौराणिक कथा ‘थिबिया’ बाट प्रेरित नाटकले एउटी आमाले छोरा गुमाउँदाको पीडा, प्रतीक्षा र रूपान्तरणको कथा समेटेको छ । नाटकले पौराणिक पात्र थिबेलाई केन्द्रमा राख्दै आमा र सन्तानको सम्बन्ध, मानव र प्रकृतिबीचको आत्मीयता तथा प्रकृतिप्रति मानवको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ ।
समाजभित्र गहिरिएर बसेको पितृसत्ताको अदृश्य उपस्थितिलाई पनि उजागर गर्दै, आजको समकालीन जीवनमा त्यसका अवशेषहरू अझै कसरी प्रभावशाली छन् भन्ने विषयलाई नाटकले मञ्चमा प्रस्तुत गरेको छ ।
गिलु रातोसद्वारा लिखित यो नाटकमा कलाकारहरू संगीता थापा, संजीव राई, सोहाङ राई थुलुङ, प्रविण पोखरेल, सञ्जिप योगी, सञ्जीव राई, अभिषेक शर्मा राजोपाध्याय, अञ्जना राई, चिराग पनेरु, रोशनी कार्की, रेजिना राई, पूर्णबहादुर गन्धर्व, अग्निश्री विश्वकर्मा, शान्ता राई, रेणुका घर्ती मगर, मनिका लामा, चिराग पनेरु, डेभिड सुवेदी, युगल श्रेष्ठ र पवन कुमार तामाङ (गोले) को अभिनय रहेको छ ।
नाटक फागुन ४ गतेसम्म मंगलबारबाहेक हरेक साँझ ५:१५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।
तस्बिरहरू:-









