ग्रीन कार्डका कारण राप्रपाकी उम्मेदवार कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं । रूपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की तर्फबाट उम्मेदवार बनेकी कार्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन् ।

अमेरिकाको स्थायी आवास अनुमति पत्र (ग्रीन कार्ड) लिएकी थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएकी हुन् ।

थापा राप्रपा नेता तथा पूर्व कानुनमन्त्री निरन्जन थापाको छोरी हुन् । उनी लामो समयदेखि अमेरिका–नेपाल ओहोरदोहोर गर्दै आएकी थिइन् भने केही दिनभित्रै अमेरिका जाने तयारीमा समेत रहेको बुझिएको छ ।

विज्ञप्तिमा थापाले आफू विगत १४ वर्षदेखि विदेशमा शिक्षा अध्ययन तथा सीप आर्जनमा संलग्न रहेको र पछिल्लो आठ वर्षदेखि नेपालमै फर्किएर त्यही सीप प्रयोग गर्दै काम गरिरहेको उल्लेख गरेकी छन् । युवाहरू विदेश जान बाध्य नहोस् र स्वदेशमै बसेर राष्ट्रसेवा गर्न सकिन्छ भन्ने सोचका साथ आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।

उनले अध्ययनका क्रममा लिएको स्थायी आवास अनुमति पत्र उम्मेदवारी दर्ता गरेपछि परित्याग गरे पनि हुने भन्ने बुझाइ आफूमा रहेको उल्लेख गरेकी छन् । हालसम्म कुनै पनि अन्य देशको नागरिकता वा राहदानी नलिएको र नेपाली राहदानी मात्र रहेको उनले स्पष्ट पारेकी छन् । तर पछि नेपालको संविधानको धारा २९१ अनुसार स्थायी आवास अनुमति पत्र परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाइने कानुनी व्यवस्था रहेको जानकारी पाएपछि संविधानको मर्मअनुसार निर्णय लिन बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।

कुनै विरोध वा उजुरी नपरे पनि पार्टीको अनुरोध र संविधानको भावना अनुरूप ‘ठूलो मन’ गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेको थापाले बताएकी छन् ।

उम्मेदवारी फिर्ताले आफ्नो सेवा भाव अन्त्य नहुने उल्लेख गर्दै उनले राजनीतिभित्र वा बाहिर रहेर पनि प्रविधि, उद्यमशीलता, युवा तथा महिलाको सशक्तीकरण र सुशासनका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । सही समय र स्पष्ट कानुनी आधारका साथ पुनः जनतामाझ उभिने उनले बताएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =