सर्लाही-४ मा गगन पुगेपछि एमालेले फेर्‍यो उम्मेदवार

काठमाडौं । नेकपा एमालेले सर्लाही ४ मा उम्मेदवार परिवर्तन गरेको छ । कांग्रेस सभापति गगनकुमार थापा उम्मेदवार बनेको यस क्षेत्रमा एमालेले आफ्नो पूर्वघोषित उम्मेदवार परिवर्तन गरेको हो ।

मंगलबार दिउँसोसम्म एमालेले आफ्ना पुराना र निष्ठावान कार्यकर्ता रविशंकर कुशवाहालाई उम्मेदवार बनाउने तयारी गरेको थियो । कुशवाहा मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयसमेत पुगिसकेका थिए । तर, मनोनयनको अन्तिम क्षणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुशवाहाको नाम फिर्ता लिँदै अमनिश कुमार यादवलाई उम्मेदवार बनाउने आधिकारिक पत्र पठाएका हुन् ।

एमालेबाट टिकट पाएका अमनिश कुमार यादव राजनीतिक खेलाडी शिवपुजन रायका छोरा हुन् । छोरालाई टिकट दिलाउनकै लागि शिवपुजनले निकै ठूलो कसरत गरेको देखिन्छ । स्रोतका अनुसार, शिवपुजनले सुरुमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छोराका लागि टिकटको माग गरेका थिए । तर, प्रचण्डले अस्वीकार गरेपछि उनले सोमबार मात्रै नेकपा परित्यागको घोषणा गरेका थिए । छोरालाई टिकट दिने सुनिश्चितता भएपछि शिवपुजन मंगलबार नै एमालेमा प्रवेश गरेका हुन् ।

कांग्रेस सभापति थापा उम्मेदवार रहेको यस क्षेत्रमा एमालेको यो कदमले प्रतिस्पर्धालाई अझ कसिलो बनाएको छ । एमालेका अमनिश यादव मात्र होइन, अन्य शक्तिहरूको पनि बलियो उपस्थिति देखिएको छ। नेकपाले रगनिस राय यादवलाई चुनावी मैदानमा उतारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. अमरेश कुमार सिंहले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =