ओलीद्वारा झापा-५ मा आगलागीबाट प्रभावित संरचनाहरूको निरीक्षण (तस्बिरहरू)

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी भएका संरचनाहरूको निरीक्षण गरेका छन् ।
जेन–जी आन्दोलनपछि पहिलोपटक गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले दमक र आसपासका क्षेत्रमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका स्थानीय तहका भवन, सार्वजनिक संरचना तथा निजी सम्पत्तिहरूको अवलोकन गरेका हुन् ।
निरीक्षणका क्रममा उनले क्षति भएको सम्पत्तिको पुनर्निर्माण र प्रभावितहरूलाई राहत उपलब्ध गराउन आवश्यक पहल गर्ने बताएका छन् । गत भदौमा भएको युवा नेतृत्वको जेन–जी आन्दोलनका क्रममा देशव्यापी हिंसा भड्किएको र झापामा पनि दमक नगरपालिका, भ्यू टावरलगायतका स्थानमा आगजनी तथा तोडफोड भएको थियो ।
सो घटनापछि ओलीमाथि काठमाडौँ उपत्यका बाहिर यात्रा प्रतिबन्ध लगाइएको थियो । जुन हालै मात्र हटाइएको छ । प्रतिबन्ध फुकुवापछि झापा आएका ओलीले स्थानीय नेता–कार्यकर्तासँग भेटघाट गर्दै आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीसमेत थालेका थिए । झापा–५ बाट नै उम्मेदवारी दिने तयारीमा रहेका ओलीको यो भ्रमणलाई चुनावी सरगर्मीको सङ्केतका रूपमा हेरिएको छ ।
निरीक्षणपछि अध्यक्ष ओलीले शान्ति र विकासका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् । उनले हिंसात्मक घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न सरकारसँग माग पनि गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरू:









