टीभीएस अपाचेको २० वर्ष: नेपालमा पहिलो पटक ‘एआरई जीपी’ रेसिङ छनोट सुरु

काठमाडौं । विश्वप्रसिद्ध दुई तथा तीन पाङ्ग्रे सवारी साधन निर्माता टीभीएस मोटर कम्पनीले नेपालमा पहिलो पटक टीभीएस अपाचे रेसिङ एक्स्पेरियन्स (एआरई जीपी) को भव्य शुभारम्भ गरेको छ । यो कार्यक्रम टीभीएस अपाचे सिरिजले २० वर्ष पूरा गरेको ऐतिहासिक अवसरसँग जोडिएको छ ।
काठमाडौंको साटुंगलस्थित वाहन एकेडेमी एन्ड रिसर्च सेन्टर मा आयोजित पहिलो छनोट चरणमा ६० जना सहभागी राइडरहरू र २०० भन्दा बढी दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा टीभीएस रेसिङका च्याम्पियनहरूले सहभागीहरूलाई विशेष प्रशिक्षण तथा मार्गदर्शन प्रदान गरेका थिए ।
नेपालमा सञ्चालित यो च्याम्पियनसिपमा १० वटा चुनौतीपूर्ण मोड भएको पेशागत ट्र्याकमा ६० भन्दा बढी राइडरहरूले प्रतिस्पर्धा गरे । उनीहरूको प्रदर्शनलाई सबैभन्दा छिटो ल्याप समयको आधारमा मूल्यांकन गरियो। प्रतियोगितामा १६० सीसी र २०० सीसी गरी दुई वर्ग समावेश थिए, जसले विभिन्न क्षमताका राइडरहरूलाई समान अवसर प्रदान गरेको थियो ।
प्रत्येक वर्गका शीर्ष तीन विजेताहरूलाई दर्शकहरूको उत्साहपूर्ण स्वागतसँगै २५,००० रुपैयाँ नगद पुरस्कार तथा विशेष टीभीएस मोटर राइडिङ गियर प्रदान गरियो । यसबाहेक, वर्ग विजेताहरूले आगामी अप्रिल २०२६ मा भारतको चेन्नईस्थित प्रतिष्ठित मद्रास इन्टरनेशनल सर्किट मा हुने एआरई जीपी को ग्रान्ड फाइनलमा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेका छन् ।
२००७ मा सुरु भएको टीभीएस रेसिङ एआरई जीपी ले अपाचे राइडरहरूलाई रमाइलो, सिकाइ र प्रतिस्पर्धाको अनुपम मञ्च दिँदै आएको छ । सन् २०२५ मा यो च्याम्पियनसिप अन्तर्राष्ट्रिय स्तरमा विस्तार भई नेपाल, मेक्सिको र कोलम्बियासहित भारतका १७ सहरमा सञ्चालन भएको थियो । यसले विश्वभर १,००० भन्दा बढी अपाचे राइडरहरूलाई समेटेको कम्पनीले जनाएको छ ।
टीभीएस मोटर कम्पनीका प्रिमियम व्यवसाय प्रमुख विमल सुम्ब्लीले एआरई जीपीको अन्तर्राष्ट्रिय विस्तार सीमा नाघ्ने र नयाँ मापदण्ड स्थापित गर्ने यात्राको स्वाभाविक निरन्तरता रहेको बताए । ‘टीभीएस अपाचेले २० वर्ष पूरा गरेको यो विशेष अवसरमा एआरई जीपीको अन्तर्राष्ट्रिय विस्तार हाम्रो सीमा नाघ्ने र नयाँ मापदण्ड स्थापित गर्ने यात्राको स्वाभाविक निरन्तरता हो । नेपालको बढ्दो मोटरस्पोट्र्स उत्साही समुदायले यसलाई उत्कृष्ट गन्तव्य बनाएको छ’ उनले भने ।
यसैगरी, अनुसन्धान तथा विकासका वरिष्ठ उपाध्यक्ष आर.बाबुले राइडरहरूलाई पेशागत स्तरको अनुभव दिन प्रतिबद्ध रहेको बताए । नेपालमा टीभीएसले महत्त्वपूर्ण स्थान बनाइसकेको उनलेब ताए । ‘हामी यो प्लेटफर्ममार्फत राइडरहरूलाई पेशागत स्तरको अनुभव दिन प्रतिबद्ध छौं । नेपालमा टीभीएसले महत्त्वपूर्ण स्थान बनाइसकेको छ र दुई पाङ्ग्रे बजार निरन्तर बढिरहेको छ’ उनले भने ।
जगदम्बा मोटर्स (नेपालका लागि टीभीएसको आधिकारिक वितरक) का प्रबन्ध निर्देशक शाहिल अग्रवालले मोटरस्पोट्र्सले युवा पुस्तालाई सधैं प्रेरित गर्दै आएको बताए । स्थानीय प्रतिभालाई प्रोत्साहन दिनुका साथै प्रदर्शन मोटरसाइकलिङको दृश्यता बढाउने उनको विश्वास छ ।
‘मोटरस्पोट्र्सले युवा पुस्तालाई सधैं प्रेरित गर्दै आएको छ। नेपालबाट सुरु भएको यो अन्तर्राष्ट्रिय अभियानले स्थानीय प्रतिभालाई प्रोत्साहन दिनुका साथै प्रदर्शन मोटरसाइकलिङको दृश्यता बढाउनेछ,’ उनले भने ‘हामी नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने अवसर सिर्जना गर्न पाउँदा गर्व महसुस गरिरहेका छौं ।’
कार्यक्रममा व्हिली र्याम्प, स्टन्ट शो, जिमखाना जस्ता रोमाञ्चक गतिविधिहरू प्रस्तुत गरिएको थियो भने डीजे सुजन, डीजे किरण र डीजे सबिनले मनोरञ्जन थपेका थिए ।
चार दशक लामो रेसिङ विरासत बोकेको टीभीएस रेसिङले टीभीएस अपाचे सिरिजको विकासमा महत्त्वपूर्ण योगदान दिएको छ । हाल विश्वभर ६५ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरूले अपाचे ब्रान्डलाई अँगालेका छन् ।








