बालेनलाई प्रधानमन्त्री प्रस्ताव गर्दै रास्वपाले गर्यो मधेश यात्राको शंखघोष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र अर्का प्रभावशाली नेता डा. स्वर्णिम वाग्लेबीच सघन संवाद भएको छ । नेता वाग्लेले बिहीबार बिहान मेयर शाहसँगको फोटो पोस्ट गर्दै उनले यस्तो बताएका हुन् ।
रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई आगामी सरकारको ‘प्रस्तावित प्रधानमन्त्री’का रूपमा अघि सार्ने तयारी गरेको छ । नेता डा. वाग्लेले बालेनसँगको संवादलाई ‘नीतिगत स्पष्टताको चरण’ भन्दै देशको आर्थिक र पूर्वाधार विकासमा बालेनको भिजनलाई पार्टीले प्रमुख एजेन्डा बनाउने संकेत गरेका छन् ।
पार्टीको संगठन विस्तार र राष्ट्रिय एकताको सन्देश दिन रास्वपाको शीर्ष नेतृत्व आगामी साता मधेश झर्ने भएको छ । माघ ५ गते सभापति रवि लामिछाने, नेता डा. स्वर्णिम वाग्लेसहितको टोली जनकपुर पुग्ने कार्यक्रम छ । यस भ्रमणलाई ‘देश जोड्ने र बनाउने महाअभियान’को औपचारिक सुरुवात भनिएको छ। मधेशको माटोबाटै नयाँ राष्ट्रिय सोचको बीजारोपण गर्ने लक्ष्य पार्टीले राखेको छ ।








