गाजा र जेरुसेलममा भारी वर्षा र बाढीका कारण पाँच जनाको मृत्यु

काठमाडौं । क्षेत्रमा आएको भारी वर्षा र तिब्र हावाहुरीका कारण गाजा शहरमा दुई छुट्टाछुट्टै घटनामा चार प्यालेस्टाइनीको मृत्यु भएको छ । पूर्वी जेरुसेलममा बाढीका कारण एक महिलाले ज्यान गुमाएकी छिन् । प्रत्यक्षदर्शीकाअनुसार गाजा सहरको समुद्री किनारमा रहेको एक विवाह मण्डप (वेडिङ हल) भत्किँदा एक महिला र एक बच्चासहित तीन जनाको मृत्यु भएको छ ।

उक्त भवनमा युद्धका कारण विस्थापित व्यक्तिहरूले शरण लिइरहेका थिए । अर्को छुट्टै घटनामा गाजा सहरको पश्चिमतर्फ आँधीका कारण पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले जानकारी दिएका छन् । गाजा नागरिक रक्षाका प्रवक्ता महमुद बासलले यी घटनाहरूको पुष्टि गर्दै लगातारको वर्षा र हावाहुरीका बीच गाजाका भवनहरू अब बासिन्दाका लागि सुरक्षित आश्रयस्थल नरहेको चेतावनी दिए ।

यसैबीच पूर्वी जेरुसेलममा मङ्गलवार आएको बाढीमा परी ५० वर्षकी एक महिलाको मृत्यु भएको इजरायलको म्यागन डेभिड एडोम उद्धार सेवाले जनाएको छ । बाढी पसेको घरभित्र कुनै गह्रौँ वस्तुले लागेर घाइते भएकी ती महिलाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । इजरायली प्रहरीकाअनुसार बाढीले गर्दा दक्षिणी र उत्तरी इजरायलका धेरै सडकहरू अवरुद्ध भएका छन् र कम्तीमा १० जनालाई बाढीबाट उद्धार गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =