कांग्रेस विशेष महाधिवेशनमा राखियो संवैधानिक राजतन्त्र पुनर्बहाली गर्ने प्रस्ताव

काठमाडौं । नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले मुलुकमा संवैधानिक राजतन्त्र पुनःबहाली गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । मंगलबार जारी नेपाली काँग्रेसको विशेष महाधिवेशनमा गण्डकी प्रदेशको तर्फबाट आफ्ना धारणा राख्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

सभापति शर्माले देशमा क्रियाशिल सबै राजनीतिक शक्तिहरुसँग संवाद र छलफल गरी संवैधानिक राजतन्त्र पुनःबहालीको वातावरण बनाउनुपर्नेमा जोड दिए । राष्ट्रियता, प्रजातन्त्र र समाजवादका साथै सनातन धार्मिक स्वतन्त्रतासहितको हिन्दू धर्म पुनःबहाली हुनुपर्ने उनको माग थियो । मुलुकको विद्यमान संकट समाधानका लागि काँग्रेसले नयाँ वैचारिक बाटो लिनुपर्ने उनले बताए ।

अहिलेको सन्दर्भमा देश र जनता बचाउनु नै प्रमुख कार्यभार रहेको उल्लेख गर्दै उनले भने , ‘नेपाली काँग्रेस बचाउनु पहिलो काम हो । देशमाथि परेको संकटलाई समाधान गर्न पनि नेपाली काँग्रेसकै नेतृत्वको खोजी भइरहेको छ । तसर्थ , परिमार्जित र जनताको सेवामा समर्पित नेतृत्व महाधिवेशनबाट चयन गरौँ ।’

विशेष महाधिवेशनलाई ऐतिहासिक बनाउनुपर्नेमा जोड दिँदै उनले गणतन्त्रलाई नै आत्मसाथ गर्ने हो भने पनि प्रतिक्रियावादी शक्तिहरुले फेरि शिर उठाउन नसक्ने गरी व्यवस्था सुदृढ गर्नुपर्ने धारणा राखे । उनले देशको संकट टार्न र काँग्रेसलाई बलियो बनाउन विचार विमर्शको खाँचो रहेको समेत बताए । विशेष महाधिवेशनबाट राष्ट्रियता, प्रजातन्त्र र सनातन मूल्य मान्यताको संरक्षणका लागि स्पष्ट मार्गचित्र कोर्नुपर्नेमा उनको जोड् छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =