उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत ३२ वटा कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ ।
उद्योगमन्त्री गौरिकुमारीले कार्ययोजनाअन्तर्गत तोकिएका कार्य समयअगावै सम्पन्न गरी विस्तृत प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएकी हुन् । कार्ययोजनाले निर्दिष्ट गरेका नीतिगत सुधार, औद्योगिक वातावरण सुधार, प्रभावकारी सेवा प्रवाह, लगानीमैत्री वातावरण सृजना, उद्योग प्रशासनलाई चुस्त बनाउने तथा मन्त्रालयका प्राथमिकतामा रहेका विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको उद्योग मन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारप्रति जनविश्वास बढाउने, सुशासनलाई संस्थागत गर्ने तथा परिणाममुखी कार्यशैली स्थापित गर्ने उद्देश्यका साथ मन्त्रालयले आफ्ना कामलाई तीव्र बनाएको उद्योग मन्त्रीको भनाइ छ । कार्ययोजनामा घोषणा गरिएका कार्यक्रम समयमै सम्पन्न गर्न, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा जनताले प्रत्यक्ष अनुभूति गर्ने परिणाम दिन प्रधानमन्त्री शाहले निरन्तर निर्देशन दिँदै आएका छन् ।










