इरानद्वारा अमेरिकी आक्रमणको जवाफी आक्रमण

एजेन्सी । इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा भएको अमेरिकी हवाई आक्रमणको जवाफमा अमेरिकी सैन्य स्थानहरूलाई लक्षित गरी आक्रमण गरेको घोषणा गरेको इरान समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।
यसैबीच इरानको इस्लामिक परामर्शदात्री सभाका सदस्य इब्राहिम अजिजीले अमेरिका युद्ध विरामका लागि प्रतिबद्ध नभएको उल्लेख गर्दै दोषारोपणको खेलले अबका दिनमा काम नगर्ने बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले वार्ताको प्रक्रिया चलिरहेको समयमा इरान माथि अमेरिकाले पुनः आक्रमण गरेको पुष्टि गर्दै अमेरिकी राष्ट्रपति वार्ता वा युद्ध विरामको सिद्धान्तप्रति कुनै प्रतिबद्धता नभएको बताएका छन् ।
यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यदि इरानसँग एमओयू कसरी लागू भइरहेको छ भन्ने बारे असहमति छ भने उनीहरूले फोन मार्फत पनि सल्लाह गर्न सक्ने बताएका छन् ।
उनले इरानले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको विषयमा सम्मान गर्दै उनीहरूसँग एमओयू कसरी लागू भइरहेको छ भन्ने बारे असहमति रहेमा फोन मार्फत समाधान गर्नु पर्ने तर हिंसाको सामना हिंसाका साथ नै हुने बताएका छन् ।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल र लेबनानबिच त्रिपक्षीय फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सामाजिक सञ्जाल एक्समा उनले इजरायल र लेबनानबिचको ऐतिहासिक त्रिपक्षीय फ्रेमवर्क सम्झौताको हिस्सा हुन पाउँदा अमेरिकाले गर्व गरेको उल्लेख गर्दै अझै धेरै काम गर्न बाँकी रहेकाले शान्ति, समृद्धि र आपसी सहअस्तित्वको लागि अर्थपूर्ण कदम चालेका बताए ।
आइआरजिसी र नियमित इरानी सेनाको समन्वय गर्ने अपरेसनल कमान्ड सेन्टर, इरानको खातम अल–अन्बिया सेन्ट्रल हेडक्वार्टरका आधिकारिक सैन्य प्रवक्ता इब्राहिम अल–फिकारले यस पटक अमेरिकी आक्रमणमा इरानको कडा प्रतिक्रिया हुने बताएका छन् ।









