कांग्रेसको कलह सुल्झाउन तीनै पक्षले बनायो वार्ता टोली

काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक शक्ति संघर्ष र ‘विशेष महाधिवेशन’ को विवाद समाधानका लागि दुवै पक्षले वार्ता समिति गठन गरेका छन् । भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षधर र पार्टी नेतृत्वबीच उत्पन्न गतिरोध अन्त्य गर्न दुवै पक्षबाट वार्ता टोली बनाइएको हो ।
पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह र नेता डा. शेखर कोइराला नेतृत्वको इतर समूहका तर्फबाट संयुक्त रूपमा वार्ता टोली गठन गरिएको छ । टोलीमा संस्थापन पक्षबाट बालकृष्ण खाण र रमेश लेखक रहेका छन् भने इतर समूहबाट सहमहामन्त्री जीवन परियार र नेता डा. मिनेन्द्र रिजाललाई समावेश गरिएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशन पक्षधरका तर्फबाट पनि चार सदस्यीय वार्ता समिति सार्वजनिक गरिएको छ। सोमबार साँझ गठित उक्त समितिमा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्यसहित महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलनमा नेतृत्वदायी भूमिका खेलेका नेताहरू गुरुराज घिमिरे र देवराज चालिसे रहेका छन् ।
दुई वार्ता समितिबीच आजै केही समयपछि वार्ता हुने तयारी भइरहेको नेताहरूले बताएका छन् । उक्त संवादले पार्टीको आधिकारिक केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशन पक्षधरबीच देखिएको मतान्तरलाई कम गर्ने अपेक्षा गरिएको छ ।
विवाद समाधानका लागि संवादको प्रयास भइरहँदा दुवै पक्षले आफ्ना पूर्वनिर्धारित कार्यक्रमलाई पनि निरन्तरता दिएका छन् । आज बिहान ९ बजेदेखि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्र पुनः सुरु हुँदैछ । अर्कोतर्फ, पार्टी सभापति शेरबहादुर देउवाले आजै बिहान ११ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन् । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीभित्रको आन्तरिक विवादबारे छलफल हुने बताइएको छ ।









