समानुपातिक सूची सच्याउन आयोग पुग्दै रास्वपा

काठमाडौं । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीलाई लिएर व्यापक असन्तुष्टि र आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नाम हेरफेर गर्ने तयारी गरेको छ । पार्टीभित्र र बाहिरबाट चर्को दबाब सिर्जना भएपछि रास्वपाले बन्दसूची अद्यावधिक गर्न आज निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
पार्टीका नेता गणेश पराजुलीले त्रुटिहरू सच्याउन र नाम अद्यावधिक गर्न आयोग जान लागेको पुष्टि गरेका छन् । रास्वपाले आयोगमा बुझाएको प्रारम्भिक सूचीमा समावेश भएका उच्च प्रोफाइलका व्यक्तिहरूले नै सार्वजनिक रूपमा असहमति जनाएपछि पार्टी नेतृत्व अप्ठ्यारोमा परेको थियो ।
बन्दसूचीमा नाम समावेश भएका डा. अरनिको पाँडे, डा. रामजी राम, पूर्व मिस नेपाल सुगरिका केसी (त्रिशला गुरुङ), टासी शेर्पा, कलाकार आसिफ साह लगायतले आफ्नो नाम फिर्ता लिन आग्रह गरिसकेका छन् । त्यसैगरी सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली र मोहना अन्सारीले पनि सूचीबाट हट्न चाहेको घोषणा गरेका थिए ।
यसैबीच, रास्वपाले कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ सँगको सहकार्य टुटेपछि सो पार्टीबाट सिफारिस भएका नामहरू पनि हटाउने तयारी गरेको छ । उज्यालो नेपालले हिजो मात्रै रास्वपासँगको सहमति भङ्ग गर्ने निर्णय गरेको थियो । आज आयोग पुगेर रास्वपाले असन्तुष्ट पक्ष र उज्यालो नेपालका उम्मेदवारहरूको नाम हटाएर सूची अद्यावधिक गर्ने बुझिएको छ ।









