म्याग्देले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने

काठमाडौं । म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई प्रोत्साहन स्वरुप रु पाँच लाख दिने घोषणा गरेको छ । गाउँपालिकाको झण्डासहित सगरमाथा आरोहण गर्ने म्याग्देका बासिन्दालाई रु पाँच लाख प्रोत्साहन स्वरुप सहयोग गर्ने नीति लिइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले म्याग्देको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले म्याग्दे गाउँपालिकाको लोगो अङ्कित झण्डासहित सगरमाथा आरोहण गर्ने व्यक्तिलाई रु पाँच लाख प्रोत्साहन अनुदान प्रदान गरिने बताए । नेपालको गौरवको प्रतिक सगरमाथासँग गाउँपालिकाको नाम जोड्ने तथा साहसिक पर्यटन गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको उनले बताए ।

त्यस्तै आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । दूध उत्पादनमा कृषकलाई थप उत्साहित बनाउन प्रति लिटर दूधमा रु १० अनुदान उपलब्ध गराइने व्यवस्था गरिएको छ । यस कार्यक्रमका लागि गाउँपालिकाले रु ५० लाख बजेट विनियोजन गरेको छ ।

सामाजिक सद्भाव, समानता र समावेशी समाज निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले अन्तरजातीय विवाह गर्ने दम्पत्तिलाई रु ५० हजार प्रोत्साहन रकम उपलब्ध गराइने व्यवस्था गरिएको उनले जानकारी दिए । समाजमा अझै विद्यमान जातीय विभेद् अन्त्य गर्न तथा सामाजिक एकता सुदृढ बनाउन यो कार्यक्रम प्रभावकारी हुने उनको विश्वास छ ।

विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक अवस्थाको व्यवस्थापनलाई सुदृढ बनाउन गाउँपालिकाले विपद् व्यवस्थापन कोषमा रु ४० लाख बजेट छुट्याएको छ । बाढी, पहिरो, आगलागी तथा अन्य प्राकृतिक तथा मानवीय विपद्का घटनामा तत्काल राहत, उद्धार र पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन उक्त रकम परिचालन गरिने अध्यक्ष श्रेष्ठले बताए ।

पर्यटन क्षेत्रलाई गाउँपालिकाको आर्थिक विकासको महत्त्वपूर्ण आधारका रूपमा लिँदै मानुङ, गैह्रास्वाँरा, हर्कपुरलगायत पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रवद्र्धनका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले जानकारी दिए । ती क्षेत्रमा पदमार्ग, विश्रामस्थल, दृश्यावलोकन स्थल, सूचना केन्द्र तथा अन्य आवश्यक संरचना निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको छ ।

स्थानीय उत्पादनको संरक्षण, बजारीकरण तथा उपभोगलाई बढावा दिन ‘बसे पनि सहर, गाउँकै खाने रहर’ कार्यक्रम सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताए । यस कार्यक्रममार्फत गाउँमा उत्पादन भएका कृषि उपज, दुग्धजन्य पदार्थ, खाद्यान्न तथा परम्परागत खाद्य सामग्रीको प्रयोगलाई प्रोत्साहन गरिनेछ ।

गाउँपालिकाले कृषि उत्पादन वृद्धि, पर्यटन प्रवद्र्धन, सामाजिक समावेशिता, विपद् व्यवस्थापन र स्थानीय उत्पादनको संरक्षणलाई एकीकृत रूपमा अघि बढाउँदै दिगो विकास र समृद्ध म्याग्दे निर्माणको लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =