निर्वाचन वैशाख २१ मा गर्न उपयुक्त हुन्छ: पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

काठमाडौँ । पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनलाई वैशाख २१ मा सार्न उपयुक्त हुने धारणा राखेका छन् ।

उनले देश तथा विदेशमा रहेका सबै मतदाताहरूलाई मतदानको अवसर दिन निर्वाचन २ महिना पछि सार्न उपयुक्त हुने तर्क गरेका हुन् ।

शनिवार काठमाडौँमा आयोजित आगामी फागुन २१ मा हुने निर्वाचनको विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले लोकतन्त्रमा सबैले निर्वाचनमा मत हाल्न पाउने अधिकार भएकाले पनि त्यसको व्यवस्था गर्न पनि निर्वाचन तोकिएको मितिबाट केही समय पछि सार्न आवश्यक रहेको बताए ।

उनले भने ‘वैशाख २१ गते निर्वाचन गर्दा के फरक पर्छ भन्ने गर्छु म । मतदातालाई मताधिकार दिने भित्री र बाहिरी मतदातालाई मतदान गर्ने अधिकार दिने समस्या समाधान गर्न सकिन्थ्यो कि । संसारमा विभिन्न टेक्नोलोजी उपलब्ध छ । त्यसलाई ल्याएर हामीसँग पर्याप्त विशेषज्ञहरू पनि हुनुहुन्छ । टेक्नोलोजीका मास्टरहरू हुनुहुन्छ । उहाँहरूको टेक्नोलोजी प्रयोग गरेर पनि हामी त्यो काम गर्न सक्छौ जस्तो लाग्छ मलाई । यतिसम्म भन्ने मेरो अधिकार हो । अहिले तत्कालै मेरो यो जवाफले तपाईँलाई सन्तुष्ट पार्दैन । त्यसैले ११९ वटा विभिन्न मुलुकमा रहेका मतदातालाई पनि मतदान गर्ने अधिकार लोकतन्त्रमा दिनु पर्दछ । त्यसतर्फ काम गर्नुपर्दछ ।’

कार्यक्रममा बोल्दै पूर्वकार्यवाहक पूर्वप्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले तोकिएको मितिमा नै निर्वाचन सम्पन्न गर्नुपर्ने बताए । उनले जेन–जी आन्दोलनले सचेत गराएको उल्लेख गर्दै निर्वाचनलाई फेस गरेर अघि बढ्दा नै मुलुकको हित हुने बताए ।

उनले भने ‘निर्वाचन तोकिएको मितिमा हुन्छ । हामीले गर्नैपर्छ । जेन–जी आन्दोलनले हामीलाई सचेत र सजग गराएको छ । त्यसकारण हामीले सबैले मिलेर निर्वाचन सम्पन्न गर्नुपर्दछ ।’

संविधान सभा सदस्य एवं कानूनविद् डा. खिमलाल देवकोटाले विद्यमान संवैधानिक प्रावधानमा संशोधन नगरी हुने निर्वाचनले मुलुकलाई सही ढंगले अघि बढाउन सक्ने अवस्था नआउने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =