भृकुटीमण्डपमा ‘कांग्रेसी’ रौनक (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको चिसो सिरेटोलाई चिर्दै भृकुटीमण्डप क्षेत्रमा एकाएक ‘राजनीतिक गर्मी’ बढेको छ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको संघारमा शनिबार दिउँसो प्रदर्शनी मार्ग आसपास पुग्दा माहोल फेरिएको थियो ।

एकातिर ठडिँदै गरेको भव्य मञ्चमा कामदारहरूको हतारो देखिन्थ्यो भने अर्कोतिर छेउछाउका चिया पसल र चौतारीहरूमा प्रतिनिधिहरूको बाक्लो जमघट । हातमा झोला र अनुहारमा लामो यात्राको थकान भए पनि देशका विभिन्न जिल्लाबाट काठमाडौं उत्रिएका महाधिवेशन प्रतिनिधिहरूमा उत्साह प्रष्ट देखिन्छ । कोही झोला बिसाएर ‘भाइ, तातो चिया ल्याऊ त’ भन्दै सुस्ताइरहेका भेटिए, त कोही वर्षौंपछि भेट भएका दौतरीसँग अंकमाल गर्दै ।

आइतबार र सोमबार चल्ने विशेष महाधिवेशनका लागि तयार पारिँदै गरेको मञ्चतिर पनि धेरैको नजर सोझिएको छ । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार मञ्च निर्माण, हल सजावट र प्राविधिक तयारीका काम अब अन्तिम चरणमा पुगेका छन् । उनी भन्छन्, ‘जिल्ला-जिल्लाबाट साथीहरू आउने क्रम बाक्लिएको छ, उहाँहरूको उपस्थितिले महाधिवेशन स्थलको रौनकता ह्वात्तै बढाएको छ ।’

ठडिँदै गरेको मञ्च र साउन्ड सिस्टमको ‘चेकजाँच’ चलिरहँदा महाधिवेशन व्यवस्थापन समिति पनि पाहुनाको सत्कारमा जुटेको छ । शुक्रबारदेखि नै प्रतिनिधि दर्ता, परिचयपत्र वितरण र बसोबासको चाँजोपाँजो मिलाउने काम तीव्र पारिएको छ । स्थल व्यवस्थापनलाई चुस्त बनाउन स्वयंसेवकहरूलाई ‘स्ट्यान्डबाइ’ राखिएको छ ।

  • तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =