दक्षिण यमनमा साउदी हवाई आक्रमणः ६ जनाको मृत्यु

काठमाडाैं । यमनको दक्षिणी प्रान्त अल-धालियामा बुधवार भएको साउदी नेतृत्वको हवाई आक्रमणमा ६ जनाको मृत्यु भएको छ । दक्षिणी संक्रमणकालीन परिषद् (एसटीसी) का नेता आयदारस अल-जुबैदीको गृहनगरलाई लक्षित गरी सो आक्रमण गरिएको हो ।

अल-धालियाको स्वास्थ्य विभागका एक अधिकारीका अनुसार जुबैर क्षेत्रको एउटा आवासीय घरमा भएको हवाई आक्रमणमा ६ सर्वसाधारणको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् । घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ ।

एसटीसीले दक्षिण यमनका जनताका मुद्दाहरू समाधानका लागि गम्भीर संवाद नै उत्तम उपाय भएको र आफूहरू राजनीतिक पहलहरूमा जिम्मेवारीपूर्वक संलग्न रहेको स्पष्ट पारेको छ । यसैबीच, एसटीसीका महासचिव अब्दुल रहमान जलाल साहेर अल-सुबैहीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल साउदी राजधानी रियाद पुगेको छ । तर एसटीसी नेता अल-जुबैदी भने रियादमा हुने भनिएको वार्तामा सहभागी हुन जहाज नचढी अज्ञात स्थानतर्फ लागेको बताइएको छ ।

साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ता तुर्की अल-माल्कीले अल-जुबैदीलाई यमनको राष्ट्रपतीय नेतृत्व परिषद् (पीएलसी) का अध्यक्ष रशाद अल-अलिमीसँग वार्ताका लागि रियाद बोलाइएको जानकारी दिए । अर्कोतर्फ, पीएलसी अध्यक्ष अल-अलिमीले अल-जुबैदीमाथि राज्यद्रोहको अभियोग लगाउँदै परिषद्को सदस्यता खारेज गरिदिएका छन् । उनलाई दक्षिण यमनका सर्वसाधारण विरुद्ध गम्भीर उल्लंघन गरेको र दक्षिणी मुद्दालाई दुरुपयोग गरेको आरोप लगाइएको छ ।

सन् २०१७ मा गठित एसटीसीले दक्षिण यमनको आत्मनिर्णय र स्वतन्त्रताको माग गर्दै आएको छ । पछिल्लो समय साउदी समर्थित सेना र एसटीसीबीच तेल समृद्ध हद्रामौत र अल-माहराह प्रान्तको नियन्त्रणलाई लिएर विवाद चुलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =