इतिहास बोकेको ग्यालरी बैठक, पुनर्जीवनको यात्रामा (तस्बिरहरू)

काठमाडौँ । सिंहदरबार परिसरभित्र रहेको ‘ग्यालरी बैठक’ भवन नेपालको राजनैतिक इतिहास बोकेको एउटा ऐतिहासिक भवन हो।
वि.सं. १९६५ सालमा तात्कालिक राणा प्रधानमन्त्री चन्द्रशमशेरले निजी थिएटरका रूपमा निर्माण गराएको यो भवनले नेपालको राणा शासनदेखि प्रजातन्त्र, पञ्चायत, बहुदल र गणतन्त्रसम्मका महत्त्वपूर्ण राजनीतिक परिवर्तनहरू नजिकबाट देखेको छ।
२०७२ सालको विनाशकारी भूकम्पले ११७ वर्ष पुरानो यस भवनलाई गम्भीर क्षति पुर्याए सँगै भवन जीर्ण अवस्थामा पुग्यो।
हाल सहरी विकास मन्त्रालयअन्तर्गत विशेष भवन निर्माण आयोजना कार्यान्वयन कार्यालयले यसको सबलीकरण थालेको छ। २०८२ मङ्सिर भित्र सम्पन्न गर्ने लक्ष्य सहित करिब ३९ करोड रुपैयाँ लागतमा प्रेरा निर्माण सेवा प्रालिले यसको सबलीकरण गर्ने काम गरिरहेको छ।
२००४ सालमा यही भवनबाट तत्कालीन राणा प्रधानमन्त्री पद्म शमशेरले नेपालको पहिलो संविधानको घोषणा गरेका थिए। यसै गरी २०१६ सालमा पहिलो निर्वाचित प्रतिनिधि सभाको बैठक, पञ्चायत कालमा राष्ट्रिय पञ्चायतको बैठक, २०४६ पछिको बहुदलीय संसद्को बैठक र २०६३ को ऐतिहासिक पुनर्स्थापित संसद् बैठक पनि यही भवनमा सञ्चालन भएको थियो।
२०६४ सालको संविधानसभाको निर्वाचन पछि नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सङ्घीय संसद्को बैठक बस्न थाले सँगै यो भवन खाली रहेको थियो।
सरकारले यस भवनलाई राजकीय भोज वा सेमिनार हलका रूपमा प्रयोग गर्ने योजना बनाएको छ भने सङ्घीय संसद् सचिवालयले यस भवनलाई ‘संसदीय सङ्ग्रहालय’ बनाउने योजना बनाएको छ। इतिहास बोकेको यो ग्यालरी बैठक अब फेरि नयाँ भूमिकाको प्रतीक्षामा छ।
तस्बिरहरू:-









