पाँच दिने सेकाहा महोत्सव सम्पन्न

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ स्थित ऐतिहासिक तथा पर्यटकीय गाउँ सेकाहामा पाँच दिने ‘ऐतिहासिक सेकाहा महोत्सव’ समापन भएको छ ।
शुक्रबारदेखि स्थानीय कला, संस्कृति र पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यका साथ सुरु भएका महोत्सव आज सम्पन्न भएको हो ।
महोत्सवको समापनमा कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले सहुलियत दिन तयार रहेको बताए ।
त्यसैगरी आदिवासीको भाषा संस्कृति संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने मन्त्री राईले प्रतिबद्धता जनाए ।
सेकाहा सामुदायिक विकास क्लबको आयोजनामा सम्पन्न महोत्सवमा सङ्गीतिक कार्यक्रम, सेकाहा गाउँ तथा पर्यटकीय क्षेत्रको अवलोकन, पर्यटन प्रवर्धन तथा होमस्टे निरीक्षण, विभिन्न जातजातिको झाँकी प्रदर्शन, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी गरिएको थियो ।
सेकाहामा गुरुङ समुदायको बाक्लो बस्ती छ । गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसारको अवसर पारेर महोत्सव आयोजना गरिएको थियो । महोत्सव २० हजार बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।








